पेस्तोल काण्डमा गुण्डा नाइके गणेश लामा थुनामा
पेस्तोल र गोलीसहित गौलाशाबाट पक्राउ परेका गुन्डा नाइके गणेश लामालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि डिल्ली बजार कारागार चलान गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन ।
फागुन ३० गते गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेलगत्तै घटनास्थल पुगेको महानगरीय प्रहरी वृत, गौशालाको टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको थियो । लामालाई प्रहरीले घटनास्थल नजिकैबाट टाइप ५४ मोडेलको चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित नियन्त्रणमा लिएको थियो ।
उनलाई इजाजत विना गैरकानूनी रुपमा हातहतियार लिई हिडेको कसुरमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबार पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो । लामाले भने उक्त हतियार आफ्नो नभएको र आफुलाई गोली हान्न आएकाहरुबाट खोसेको बयान दिँदै आएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्