सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

धर्मका नाममा अस्थिरता निम्त्याउन खोजे कारबाही

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पछिल्ला दिनहरुमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएको भन्दै उनीहरुलाई सरकारले कारवाहीको दायरामा ल्याउने बताएका छन् ।

आइतबार बिराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटनामा संलग्नहरुलाई कारवाहीको माग गर्दै मंगलबार गृहमन्त्रालयमा विभिन्न ४८ वटा धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री बादलले घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परीसकेको र अन्यबारे खोजबिन जारी रहेको बताएका छन ।

श्रीनिवास आचार्यमाथि भएको घटनामा संलग्नहरुको पहिचान गर्न र कारवाहीको दायरामा ल्याउन आफुले सुरक्षा निकायलाई निर्देशन दिइसकेको उल्लेख गर्दै थापाले भने, ‘जातीयता र धर्मको नाममा सबैलाई जुधाएर देशलाई अस्थिरतातर्फ लैजान केही तत्व सक्रिय भएका छन, उनीहरुलाई कारवाहीको दायरामा ल्याइनेछ ।’

प्रतिनिधिमण्डलको माग बमोजिम घाइते आचार्यको उपचारको खर्च सरकारले व्यहोर्न आवश्यक प्रक्रिया अगाडी बढाउने उनले प्रतिवद्धता जनाएका छन् । प्रतिनिधमण्डलले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने, घटनाको छानविन गर्न आयोग गठन गरीनुपर्ने, सनातन हिन्दुधर्ममाथिको आक्रमण रोकिनुपर्ने, घाइते आचार्यको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने लगायतका माग राखेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्