सुनकाण्डमा एसएसपीका चालकको सनसनीपुर्ण खुलासा
एकपछी अर्को तथ्य खुल्ने क्रममा सुन तस्कर गोरे भनिने चुडामणी उप्रेती र भुजुङ गुरुङले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्र्याएको सुन एसएसपी श्याम खत्रीकै गाडीमा राखेर दाह्रीवाला भनिने मोहन काफ्लेलाई पुर्याउने गरिएको तथ्य खुलेको छ ।
सुन तस्करी छानविन गर्न बनेको सह–सचिव ईश्वर पौडेले नेतृत्वको समिती र जिल्ला सरकारी वकिल कार्यालय मोरङमा गाडीचालक प्रहरी जवान खड्काले एसएसपी खत्रीका बडीगार्ड प्रहरी हवल्दार अमर बहादुर थापा मगर र आफूले एसएसपीकै निर्देशनमा ‘दाह्रीवाला’ लाई तस्करीको सुन लगिदिने गरेको बयान दिएका छन् ।
ड्राइभरले खड्काले ‘दाह्रीवाला’ भन्ने मोहन काफ्लेलाई सुन लगिदिएबापत ५ हजारदेखि १५ हजार रुपैयाँ दिने गरेको पनि बताएका छन । एसएसपी श्याम खत्री डिएसपी हुँदा देखी नै चालक बिष्णु बहादुर खड्का एसएसपीको गाडी चलाउँदै आएका थिए ।
सुन छानविन समितिले वैशाख ५ गते प्रहरी जवान खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । बुधबार सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत मोरङमा दायर गरेको अभियोग पत्रअनुसार प्रहरी जवान खड्काले अबैध रुपमा नेपाल भित्रिने सुन तस्करीमा एयरपोर्टमा तत्काल कार्यरत डिआईजी गोविन्द निरौला, एसएसपी श्याम बहादुर खत्री, एसपी विकास राज खनाल, डीएसपी सञ्जय राउत, एसएसपीका बडीगार्ड र आफू समेत संलग्न रहेको स्वीकार गरेका छन् ।
प्रहरी जवान खड्काले सुन पु¥याउने भनेका ‘दाह्रीवाला’ भनिने मोहन काफ्ले तिनै ब्यक्ति हुन् जो गत फागुन १९ गते सुन प्रकरणमा हत्या गरिएका शनम शाक्यको शवसँगै बिराटनगर महानगरपालिका–३ बाट पक्राउ परेका थिए ।
प्रहरी जवान खड्काले दिएको बयान अनुसार मोहन काफ्ले लगायतका समूहले विदेशबाट सुन लिएर इमिग्रेसन सम्म आउँथे, उनीहरुको पासपोर्टमा छाप लागेपश्चात कहिले डिएसपी सञ्जय बहादुर राउत र कहिले एसपी विकासराज खनालले उनीहरुलाई स्कर्ट गरेर सिधै एसएसपी श्याम बहादुर खत्री र डिआईजी गोविन्द निरौलाको कार्यकक्ष सम्म लैजाने गरेका थिए ।
‘सुन आउने समयमा डिआईजी गोविन्द प्रसाद निरौला सर र एसएसपी श्याम बहादुर खत्री सर आफ्नो कार्यकक्षमा कुरेर बस्नुहुन्थ्यो’ प्रहरी जवान खड्काले बयानमा भनेका छन–‘खनाल सरलाई कारवाही स्वरुप हेडक्वाटर तानेपछि त्यो काम डीएसपी संजय बहादुर राउत र एसएसपी श्याम बहादुर खत्री सरले गर्न थाल्नु भएको थियो ।’
प्रहरी जवान खड्काका अनुसार सुन आउने समयमा एसएसपी श्याम बहादुर खत्रीका बडीगार्ड तत्कालिन प्रहरी जवान अमर बहादुर थापा मगर खत्रीकै कार्यकक्षामा बस्ने गरेका थिए । ‘कहिले काहीँ अमर बहादुर थापा मगरले समेत अफिस छेउबाट स्कर्टिङ गर्ने गरेका थिए’ खड्काले आफ्नो बयानमा स्वीकार गरेका छन् ।
को हुन सुन काण्डमा तानिएका एसएसपी श्याम खत्री ?
एसएसपी श्याम खत्री दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका प्रहरी अधिकारी हुन । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले २०७३ माघ २३ मा प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको थियो ।
खत्री विमानस्थलको सुरक्षा प्रमुख रहेकै बेला दुबईबाट आएको सुन विमानस्थलबाट बाहिरिएको थियो, जसलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रमा सुन तस्करहरुसँग एसएसपी खत्रीको सम्वन्ध देखिएको सीआईबीको दाबी थियो ।
खत्रीले श्रीमतीका नाममा सुन पसल दर्ता गरेको सीआईबीको अनुसन्धानले देखाएको थियो । साथै, उनले साडी पसलमा ब्याजमा पैसा लगाएको समेत प्रहरीले पत्ता लगाएको थियो ।
पछि उनी दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । उनले केही समयअघि मात्र मुद्दामा सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएको थियो । र, प्रहरी प्रधान कार्यालयमा काम गर्दै आएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्