सरकारलाई चुनौति; यातायात बन्दले सडक सुनसान
यातायात क्षेत्रको सिण्डिकेट अन्त्य गर्न सरकार अडिग भएपछी सिण्डिकेटवाला यातायात व्यवसायीहरुले गरेको यातायात बन्दका कारण देशभरको यातायात प्राय; ठप्प भएको छ । सरकारले यातायात बन्द गरे ठाउँको ठाउँ रुट परमिट खारेज गर्ने चेतावनी दिए पनि सिण्डिकेटधारी ब्यवसायीले आज यातायात ठप्प बनाएका छन ।
उपत्यकामा निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चले पनि भाडाका बसहरु पुर्ण रुपमा ठप्प पारिएको छ । प्रदेश ५ को राजधानी बुटवल र प्रदेशका जिल्लाहरुमा पनि बन्दको प्रभाव परेको छ । सडक र बसपार्क सुनसान देखिएका छन् ।
धनगढीमा पनि सार्वजनिक सवारी नचल्दा सडक सुनसान देखिएको छ । पश्चिमदेखि पूर्वसम्मका शहरहरुमा सिण्डिकेटका पक्षधरहरुको बन्दको प्रभाव परेको छ ।
यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्ने सरकारको निर्णयविरुद्ध व्यवसायीहरुले बैसाख २१ (आज) देखि २७ गतेसम्म सेवा बन्द गरेर हड्तालसम्म गर्ने चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा भएको हड्ताललाई नेपाल ट्रक यातायात व्यबसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघ, ढुवानी व्यबसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनले समेत साथ दिएका छन् ।
पश्चिम नेपाल बस व्यवसायी संघले बैशाख २१ गते बिहान ४ बजेदेखि २२ गते बिहान ४ बजेसम्म बस नचलाउन आफ्ना सदस्यहरुलाई निर्देशन दिँदै चलाएमा सदस्यता खारेज गर्ने चेतावनी दिएको छ ।
सत्तारुढ वामपन्थीहरुकै नेतृत्व रहेको पश्चिम नेपाल र पृथ्वी यातायातले विहीबार सरकारसंँग वार्ता गरे पनि सहमतिमा पुग्न नसकेकाले आन्दोलनलाई निरन्तरता दिइने पश्चिम नेपालका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले बताएका छन ।
सरकारले भने सेवा अवरुद्ध गर्ने सवारीसाधनको रुट परमिट नै खारेज गरिदिने चेतावनी दिइसकेको छ । अघिल्लो सातामात्रै मन्त्रिपरिषदले सार्जजनिक यातायातलाई अत्यावश्यक सेवा अन्तरगत राख्दै यातायात बन्द गर्न नपाइने निर्णय गरेको थियो । तर, यातायात व्यवसायीले सरकारलाई चुनौती दिँदै बन्दको आयोजना गरेका हुन् ।
सरकारले यातायात व्यवसायीसँग घुँडा नटेक्ने बताउँदै आएको छ भने व्यवसायीहरु सरकारलाई घुँडा टेकाएरै छाड्ने बताउँदै आएका छन् । सरकार भर्सेस व्यवसायीको द्वन्द्वको मारमा जनता परेका छन् ।
बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि हड्तालबारे पूर्वजानकारी नपाएका यात्रुहरु बसपार्कमै अलपत्र परेका छन् । बसबाट स्कूल कलेज जाने विद्यार्थीहरु पनि हड्तालले समस्यामा परेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्