सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बुढी रिसाइस् होला तर अहिले कल चाँही नगर्नु ल !

महानगरीय अपराध महाशाखामा लामो समय काम गरेका जवान देखि अधिकृतसम्म एउटा कुरामा जानकार थिए, त्यो के भने, ‘सेनाका भगौडा सन्तोष श्रेष्ठ र प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेल मिलेर सुनको काम गर्छन् ।’

सन्तोष तस्करीको सुन लुट्थे, सञ्जेल बर्दीको रवाफ देखाएर उनलाई संरक्षण गर्थे । पछिल्लो घट्नमा सन्तोष मुछिएका छैनन् । तर, आफूलाई ‘इन्काउन्टर स्पेसलिस्ट’ दाबी गर्दै हिड्ने प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल र फागुन ९ गते काठमाडौँको रत्नराज्य स्कुल नजिकबाट लुटिएको भनिएको ३३ किलो सुनका लुटेराबीच दरबारमार्गमा मिटिङ बसेको पाईएको छ ।

सुन तस्करी प्रकरणमा मारिएका मोरङ उर्लाबारीका सनम शाक्यकी प्रेमिका निशा ठकुरीले सुन तस्करी छानविन समिति समक्ष बयान दिँदै उक्त तथ्यको खुलासा गरेकी हुन् । निशाले समिति समक्ष रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा मिलेर सुन लुट्ने योजना बनाएको बताएकी छिन् ।

लुट्ने योजना परिपक्व हुनुअघि रोशन र आकाशले अपराध महाशाखाका सई बालकृष्ण सञ्जेलसँग दरबारमार्गमा रहेको ‘बेक्स एण्ड केक्स’ नामक कफी शपमा भेट गरेको दाबी गर्दै निशाले भनेकी छिन, ‘सुन लुट्नुअघि रोशन र आकाशसँग मेरो दरबारमार्गमा भेट भएको थियो, त्यहाँ बालकृष्ण सञ्जेल पनि आएका थिए, मलाई रोशनले सञ्जेल (ईकाउन्टर स्पेसलिस्ट हो) भनी परिचय गराएको थियो ।’

सनम शाक्य समूहबाट रमेश श्रेष्ठ समूहले सुन लुट्न लागेको योजना सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ लाई सञ्जेलले पहिले नै जानकारी गराएको बताइएको छ । यसरी सुन लुट्ने योजना निशा मार्फत चुहिएसँगै चुडामणीले सनमलाई भनेका थिए, ‘तेरो गर्लफ्रेन्डलाई सिध्याई दिउँ ?’

‘चुडामणी उप्रेतीले धम्की दिएपछि सनमले मलाई अलि होस् गरेर हिँड्नु भनेका थिए’ निशा भन्छिन, ‘त्यसपछि हाडीगाँउ स्थित सनम र अन्य साथीहरु बस्ने घरबाट सबै सामानहरु निकाली (गोरे समेतले) त्यो घर छाडेका थिए ।’

‘गोरे’को धम्कीपछि प्रेमिकाले सनमलाई सुनको काम छाड्न आग्रह गरेकी थिइन् । प्रेमिकाको आग्रहलाई सम्मान गर्दै मृतक शाक्यले भनेका थिए, ‘मलाई यो काम छाड्न केही समय लाग्छ, तत्काल छाड्न मिल्दैन ।’

निशा र सनमको परिचय २०७४ साउन २८ मा दरबारमार्ग स्थित आईक्लवमा भएको थियो । निशा मोडल हुन, मोडलिङ गर्न गएको बेला आँखा जुधेपछि सनमले उनको नम्बर मागेर फोन गर्न थालेका थिए ।

हाँडिगाउँमा ‘गोरे’ ले लिएको फ्ल्याटमा बस्दै आएका सनमको यातना दिने क्रममा गत फागुन १८ गते मोरङको उर्लाबारीमा मृत्यु भएको सुन छानविन समितीको अनुसन्धानका क्रममा खुलेको छ ।

निशाका अनुसार पहिले सनमसँगै काम गरेका रमेश श्रेष्ठले पछिल्लो समय सुन तस्करीको काम छाडेको बताउँदै आएका थिए । निशाले आफ्नो ब्वाईफ्रेन्ड तस्करीमा संलग्न भएको कुरा रमेशबाटै थाहा पाएको बयान दिएकी छिन् ।

‘त्यसपछि मैले सनमलाई मन चोर्ने उद्देश्यले सोध्दा उनले हो म सुन तस्करीको कारोबार गर्छु भनेको थियो’ मोरङ जिल्ला अदालतमा पेश गरिएको अभियोग पत्रमा उल्लेखित उनको बयानमा भनिएको छ, ‘रमेश टेकराज मल्लको सालो रहेछ, उसलाई मेरो र सनमको सम्बन्धको बारेमा सबै कुरा थाहा थियो ।’

फागुन ९ गते सुन लुटिँदा सुन तस्कर ‘गोरे’ भारतमा थिए । दुईदिनपछि नेपाल आएर सुन ओसार–पसारमा संलग्न भरियाहरुलाई उनले कुटपिट गर्न थालेका थिए । आफ्नो अन्डरमा काम गर्नेहरुलाई गोरेले कुटपिट गर्न थालेपछि गत फेब्रअरी ३ मा सनम र गोरे सँगै पूर्व लागेका थिए । पूर्व गएपछि सनमसँग आफ्नो फोन सम्पर्क पातलो हुन थालेको निशाले बताएकी छिन् ।

‘यस्तैमा फेबुअरी २८ मा बिहान सात बजे सनमले मलाई म्यासेज गरेका थिए, म्यासेजमा-मलाई कल नगर है म अब दाईसँग हुन्छु १ महिना लागे पनि आफै कल गर्छु, बोल्दा पनि नर्मल तरिकाले बोल्नु है । ल मैले कल नगरुन्जेल जति लागे पनि कल चाँही नगर है । ल बुडी रिसाइस् होला तर अहिले कल चाँही नगर्नु ल भनेका थिए’ निशाले बयानमा भनेकी छिन, ‘मार्च १ मा मैले ह्याप्पी होली भनेर म्यासेज पठाएँ त्यसपछि उसको फोन अफ भयो, मार्च ३ मा थाहा पाएँ उसको हत्या भएछ !’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS