सबै क्षेत्रका सिन्डिकेट ध्वस्त पार्ने सरकारी तयारी
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले सार्बजनिक यातायातका साधनमा भएको सिन्डिकेट अन्त्य भएसँगै अन्य क्षेत्रमा भएको सिन्डिकेटलाई पनि अन्त्य गर्ने घोषणा गरेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै यातायात क्षेत्रको सिन्डिकेट अन्त्य सुरुवात मात्र भएको बताउँदै अब सबै खाले सिन्डिकेटको अन्त्य गरिने बताएका छन ।
प्रधानमन्त्री ओलीले भनेका छन्–‘यो सरकार जनताको पूर्ण समर्थन प्राप्त भएको बलियो सरकार हो । कसैले सोचेको थिएन सिण्डिकेट तोडिन्छ भनेर । तर यो सरकारले सिण्डिकेट तोडेर छाड्यो । अरु क्षेत्रमा पनि सिण्डिकेट छ, त्यो पनि तोडिन्छ ।’
त्यस्तै गृहमन्त्री रामबहादुर थापा बादलले पनि यातायात क्षेत्रको एकाधिकारको अन्त्य सुरुवात मात्र भएको बताउँदै अब अन्य क्षेत्रका पनि सबै एकाधिकार तोड्दै जाने घोषणा गरेका छन ।
आईतबार उपभोक्ता हित संरक्षण मंचका प्रतिनिधिमण्डलसँग गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री थापाले अब ट्रक व्यवसायमा रहेको एकाधिकार पनि तोड्ने जानकारी सरकारको तयारी रहेको बताएका छन ।
गृहमन्त्री थापाले भनेका छन–‘केहीलाई कारवाही प्रक्रियाबाट हामी पछाडि हट्छौं की भन्ने लाग्न सक्छ, अब हामी र्फकदैनौं र र्फकन छुट पनि छैन ।’ छलफलमा मञ्चका पदाधिकारीले ट्रक, पेट्रोलिय पदार्थ बोक्ने ट्यांकर, शिक्षा, स्वास्थ्य, बैंक लगायत धेरै क्षेत्रमा एकाधिकार रहेको भन्दै चरणवद्ध रुपमा त्यसलाई तोड्न गृहमन्त्रीसँग आग्रह गरेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्