सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हिंसा भड्काउन आफैमाथी गोली हान्न लगाएको खुलासा

हिन्दु धर्मगुरु आचार्य श्रीनिवासले धार्मिक र साम्प्रदायिक हिंसा भड्काउने योजनाका साथ आफैंमाथि गोली हान्न लगाएको खुलासा भएको छ । हिन्दु राज्यका पक्षमा लविङ्ग गरिरहेका धर्मगुरु आचार्यले राज्यले कुनै कुरा नसुनेपछी यस्तो गर्नुपरेको वयान प्रहरीलाई दिएका छन ।

आफैलाई गोली हान्न लगाएको खुलासा भएपछी धर्मगुरु आचार्य सोमबार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । दिल्ली जान लागेका आचार्यलाई काठमाडौंबाट पक्राउ गरेपछी उनलाई मोरङ प्रहरीले दिउँसो अन्य दुई अभियुक्तसहित सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर बेलचोकका २९ वर्षीय माधव चौधरी र नवलपरासी गैंडाकोट ५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारी रहेका छन् । पक्राउ परेका चौधरी, आचार्यका अंगरक्षक हुन् र उनले नै गोली हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अधिकारीले भने पेस्तोल व्यवस्थापनको काम गरेका थिए ।

हिन्दू धर्मावलम्बी र धर्म गुरुहरुलाई आन्दोलनका लागि उक्साउन आचार्य श्रीनिवास आफैंले योजना बनाएर गोली हान्न लगाएको पाइएको मोरङ प्रहरीका प्रमुख एसपी अरुण बिसीले जानकारी दिएका छन ।

आचार्यमाथि चैत २५ गते विहान गोली प्रहार भएको थियो । उनको छातीमा गोली लागेको थियो । प्रहरीका अनुसार आचार्यले हातमा गोली हान्न भनेका थिए तर, गल्तीले गोली छातिमा लागेको हो । उनी भाग्यवस बाँच्न सफल भएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्