एमाले नेताहरु नसुध्रिए पार्टी एकता हुँदैनः प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छोडेर कसैसँग झुकेर पार्टी एकता नगर्ने बताएका छन् । वाईसिएलले गरेको अन्र्तक्रिया तथा प्रशिक्षण कार्यक्रममा कार्यकर्ताको जिज्ञासालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकताका नाममा भाग माग्न जान जरुरी नभएको भन्दै झुकेर एकता नगर्ने जवाफ दिएका हुन् ।
सोमबार काठमाडौमा माओवादीको भातृृ संगठन वाइसीएलको केन्द्रीय स्कुल विभागले गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा युवाहरुले एकताबारे सोधेको प्रश्नको जवाफ दिदै प्रचण्डले जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डालाई छोडेर पार्टी एकता हुन नसक्ने बताएका छन ।
प्रचण्डको भनाई उदृत गर्दै वाइसियल अध्यक्ष ‘दीपशिखा’ले भने–‘ज जसले जे जे भनेपनि जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले माओवादी एकता हुन सक्दैन, हामी यी तीन विषयमा कम्प्रोमाइज गर्न सक्दैनौ, परिवर्तनका एजेण्डामा एमाले नेताहरु सुध्रन जरुरी छ ।’
उनले माओवादी आन्दोलन र एजेण्डालाई अपमान गर्न खोजिए देश दुर्घटनामा पर्ने भन्दै युवाहरुलाई त्यसतर्फ सचेत रहन आग्रह पनि गरेका छन । ‘एकता गर्नुपर्छ तर, अपमान र असमान ढंगले एकता हुदैन, विचार र राजनीति छाडेर पनि एकता सम्भव छैन, मानिस बुढो भएपनि विचार कहिल्यै बुढो हुदैन ’ अध्यक्ष प्रचण्डको भनाई थियो ।
प्रचण्डले क्रान्ति अपूर्ण रहेपनि माओवादीले नहारेको भन्दै पूर्णरुपमा जीत हाँसिल पनि गर्न नसकेको बताएका छन । प्रचण्डले भनेका छन–‘क्रान्ति अपूर्ण रह्यो, तर पनि हामीले हारेका छैनौं, तर पूर्ण रुपमा जित्न पनि सकेका छैनौँ । त्यसकारण प्राप्त उपलव्धिलाई जोगाउँदै अघि बढ्नुपर्छ ।’
कार्यक्रममा अध्यक्ष प्रचण्डले समाजवादमा जाने भएपछि समाजवाद उन्मुख विचार नै अंगाल्नुपर्ने पनि बताएका थिए । उनले अब बन्ने एकीकृत पार्टीको केन्द्रीय समितिमा युवाहरुलाई महत्वपूर्ण स्थान दिँदै नीति निर्माण तहमा युवाहरुलाई पुर्याउने प्रतिबद्धता जनाएका छन ।
एमाले–माओवादी पार्टी एकता प्रकृया अन्तिम चरणमा पुगेका बेला अध्यक्ष प्रचण्डबाट यस्तो अभिव्यक्ति आएको हो । दुई पार्टी एकताका लागि भइरहेको अन्तिम गृहकार्यमा जनयुद्ध, जनआन्दोलन लगायतका शव्दहरुप्रति एमालेले आपत्ति जनाउँदै आएको छ ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सवै किसिमका सिन्डिकेट तोड्न सरकार लागि रहेको बताएका थिए । उनले देश सिण्डीकेट, माफियातन्त्र, र गुण्डागर्दीले तहसनहस भएको भन्दै त्यस्ता तत्व र क्रियाकलापलाई निस्तेज पार्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन । कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठको पनि सहभागिता रहेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्