ओलीको ट्वीटप्रति प्रचण्डको आपत्ति, के थियो ट्वीटमा ?
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति माओवादी अध्यक्ष प्रचण्डले असन्तुष्टि राखेका छन् । ओलीले ‘सत्तासमीकरणको बानी परेकाहरु’ भन्दै ट्वीट गरेका थिए । उक्त ट्वीट आफुप्रति लक्षित भएको प्रचण्डको बुझाई छ ।
पार्टी एकताका लागि ओली र प्रचण्डबीच नियमित संवाद भैरहेका बेला यी दुई नेताबीच देखिने गरी आक्रोश पोखिएको छ । पार्टी एकता संयोजन समितिले एकताका लागि मिल्न वाँकी विषय टुंगाउन दुई अध्यक्षलाई जिम्मा दिएपछि प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डवीच धेरै पटक वान टू वान संवाद भएका छन् ।
उनीहरुले आफुहरु एकताका लागि नजिक पुगेको बताईरहेका बेला सामाजिक संजाल मार्फत ओलीको असन्तुष्टि बाहिर आएको हो । सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको अभिव्यक्तिबारे आजै गम्भीर छलफल गर्ने समेत बताएका हुन् ।
प्रधानमन्त्री ओलीले माओवादीलाई लक्षित गर्दै सोमबार ट्वीटरमा समिकरण फेरवदल गर्न बानी परेकालाई विकास र सम्बृद्धिप्रति अरुची हुनसक्ने भनेर अभिव्यक्ति दिएका थिए ।
बैठकमा सहभागि एक नेताका अनुसार ओलीको उक्त ट्वीटले निकट भविश्यमा हुन लागेको एकीकरण नै संकटमा पर्ने भएको भन्दै बास्तविकता के हो भनेर अध्यक्षसँग जवाफ मागेका थिए ।
त्यसक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीबाट आएको उक्त अभिव्यक्तिबाट आफु समेत आश्चर्यमा परेको भन्दै त्यसबारे आफुले तत्काल कुरा गर्ने जवाफ दिएका थिए ।
ओलीले के लेखेका थिए त त्यस्तो ट्वीटमा ?
सोमबार प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेका थिए ‘हामी विकास र सम्बृद्धिको एजेण्डामा हिँडिरहेका छौं, आफ्नो दुनो सोझ्याउन समीकरण फेरवदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिविम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यदेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामै थियो र छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्