हावाहुरी पनि मोदी बिरोधी, स्वागतद्वार सबै उडायो
बुधबार एकाबिहानै आएको हावाहुरीले धनुषा र महोत्तरीमा बितन्डा मच्चाएको छ । बिहानै आएको हावा हुरीले किसानको फलफूल तथा तरकारी खेतीसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि तयार पारिएका स्वागतद्वारमा समेत क्षति र्पुयाएको छ ।
मोदीको स्वागतका निम्ति जनकपुर क्षेत्रमा बनाइएका स्वागतद्वारहरु हावाहुरीले ढलेका छन् । मिहिनेतपूर्वक जानकी मन्दिर र त्यहाँ आउने सडकका विभिन्न भागमा ठड्याईएका प्रवेशद्वार बुधबार बिहान साढे ३ बजेतिर आएको हावा–हुरीले ढालिदिएको हो ।
हावाहुरीसँगै आएको पानीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने भनिएको रंगभूमि मैदानमा पानी जमेको छ । यसले भ्रमण तयारीमा केही असुविधा पुग्ने ठानिएको छ । मोदी पर्सि अर्थात् वैशाख २८ गते जनकपुर आउँदैछन् ।
धनुषासँगै हावाहुरीले महोत्तरीमा आँपमा क्षति र्पुयाएको छ । हावाहुरीले चिचिला आँप झारिदिँदा किसान चिन्तित बनेका छन् । यसैबीच, महोत्तरीको बर्दिबासमा लगाइएको सप्ताहको टेन्टसमेत भत्काइदिएको छ । टेन्टभित्र रहेका ५ जनाले भने भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ ।
महोत्तरीमा धेरैको घरको छानो उडाएको र रुख ढालिदिएको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । हुरीले बर्दिवासमा रहेको रेडियो सुनगाभाको सोलार प्यानल उडाएपछि प्रसारण प्रभावित भएको छ भने पोल ढल्दा बिद्युत आपूर्ति बन्द हुन पुगेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्