मुक्तिनाथमा भारी हिमपात, के होला मादीको भ्रमण ?
बुधबार रातिदेखी भएको बेमौसमी हिमपातले उपल्लो मुस्ताङ सेताम्मे भएको छ । बुधबार साँझदेखि भारी बर्षासँगै भएको हिमपातले बाह्रगाउँ, मुक्तिनाथक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिका प्रभावित भएको बताईएको छ ।
स्थानीय बुढापाकाहरुले वैशाख महिनाको अन्तिममा हिमपात भएको यो पहिलो अनुभव भएको बताएका छन । हिँजो साँझदेखी परेको हिउँ बिहानसम्म पनि परिरहेको स्थानीयले बताएका छन । स्थानीयका अनुसार करीब आधा फिट हिउँ जमेको छ ।
हिमपात र वर्षासँगै बढेको चिसोका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक लगायतका विकास आयोजनाको काममा समस्या भएको छ । जोमसोमदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा पनि प्रभावित भएको छ ।
स्याउ लगायत खेतीबालीमा बेमौसमी हिमपातले असर गर्ने भएकाले कृषक चिन्तित भएका छन् । हिन्दू तथा बौद्ध धर्मावम्बीको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा पनि आधा फिटसम्म हिउँ जमेको छ ।
बिहानदेखि हिउँ पर्न रोकिएको र मौसममा सुधार आएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणको तयारीलाई भने असर नगर्ने मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताएका छन ।
हिमपात, वर्षा र चिसोका बाबजुद पनि प्रशासनिक र सुरक्षा निकायले मोदीको भ्रमण तथा स्वागतको तयारीलाई अन्तिम चरणमा पुर्याएका छन् । वर्षातका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी—जोमसोम सडक विभिन्न ठाउँमा अवरुद्ध बनेको छ ।
अबरुद्ध सडक खुलाउन बिहानैदेखि मजदूर तथा उपकरण परिचालन गरिएको बेनी–जोमसोम—कोरला सडक आयोजनाले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्