सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सुन र सनम हत्यामा मल्लको बयान किन फेरीयो ?

साढे ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका अभियुक्त भनिएका टेकराज मल्ल ठकुरीले अदालतसामु आफ्नो बयान फेरेका छन । यसअघि गृह मन्त्रालयको अनुसन्धान टोलिलाई दिएको बयान फेर्दै अभियुक्त मल्लले सुन र सनम हत्याकाण्डमा प्रहरीको संलग्नताबारे मौन बसेका छन ।

अदालतसामू अभियुक्त टेकराज मल्ल ठकुरीले आफुले सुन तस्करी गर्ने गरेको स्वीकार गरे पनि यसअघि गृहको छानबिन समितिलाई सनमको शव व्यवस्थापनमा प्रहरीको भुमिकाका बारेमा प्रस्ट वयान दिएकोमा अदालतसामु सो बिषयमा मौन बस्दै प्रहरी अधिकारीको बचाउ गरेका छन ।

दुवईबाट एयरपोर्टसम्म सुन ल्याउने काम आफुले गर्ने गरेको र सबै काम चुडामणि उप्रेती ‘गोरे’को योजनामा भएको बताएका छन् । तर, उनले सनम शाक्यको हत्या र सुन तस्करीदेखि शाक्यको शव व्यवस्थापन गर्ने मामिलामा प्रहरी अधिकारीहरुको संलग्नताबारे आफ्नो बयान फरेका छन् ।

अदालती बयानमा टेकराजले गोरेको सल्लाह अनुसार पटक पटक दुबई गएको र प्रत्येक पटक आउँदा सुन ल्याउने गरेको स्वीकार गरेका छन् । अदालतसामु उनले भनेका छन–‘त्यो सुन मैले प्लेनभित्रै छाडिदिन्थेँ । पछिल्लो पटक हराएको साढे ३३ केजी सुन पनि म र एक जना नाम थाहा नभएको मानिसले ल्याएका हौं ।’

उनले भनेका छन–‘त्यो सुन कहाँ कसरी को मार्फत विक्री वितरण हुन्थ्यो मलाई थाहा छैन । सबै कुराको सेटिङ गोरे भन्ने चुडामणि उप्रेतीले मिलाउँथे ।’ उनले सनम शाक्यलाई गोरेले नै कुटपिट गर्नुका साथै करेन्ट लगाएको बयान दिएका छन् । तर, शाक्यको शव आफूले चलाएको गाडीमा रहेको र प्रहरी टोलीहरुसँग मिलेर शव व्यवस्थापन गर्न चाहेको पूर्व बयान भने फेरेका छन् ।

काठमाडौंबाट आएको प्रहरी टोली आफूहरुसँगै इटहरीको गेष्ट हाउसमा ३÷४ घन्टा बसेको स्वीकार गर्दै उनले भनेका छन–‘काठमाडौंबाट आएको प्रहरीहरुले गोरेलाई समात्नुपर्छ भन्थे ।’

सुनकाण्डमा पक्राउ परेका प्रहरी अधिकारीहरु बालकृष्ण संजेल, विकासराज खनाल, प्रजित केसी लगायतको बयान सुनाएपछि टेकराजले अदालतसामू भनेका छन, ‘गोरे भन्ने चुडामणिले कसरी को–को सँग सम्बन्ध राखी सुन तस्करी गर्थे थाहा भएन । मैले एयरपोर्टमा सुन ल्याउने सम्म काम गरेको हो ।’

यसअघि सुन तस्करी देखी सनम शाक्यको हत्या र शव व्यवस्थापन लगायतका बिषयमा प्रहरी अधिकारीहरुको प्रत्यक्ष भुमिका रहेको बयान दिएका मल्लले एकाएक बयान फेर्नुले घटनामा थप शंका सिर्जना गरिदिएको छ । मल्लले बयान फेर्दा प्रहरी अधिकारीहरुमाथीको आरोप फितलो हुने कानुनका ज्ञाताहरुको तर्क छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्