सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

साईबर अपराध, नाङ्गो भिडियो काण्डले तहल्का

काभ्रेकी १९ वर्षीया एक युवतीलाई सन्तोष वलिभर नामबाट फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । सुरुमा उनले इग्नोर गरिन । तर, रिक्वेस्ट रोकिएन । करिब तीन महिनाको पेन्डिङपछि रिक्वेस्ट एसेप्ट गरिन । अब दुईबीच कुराकानी हुन थाल्यो ।

सन्तोष बंगलादेशमा रहेछन । उनले बंगलादेशका रोचक प्रसंग बडो उत्साहका साथ सेयर गर्न थाले । यसबाट युवती प्रभावित बनिन । अब उनले पनि नेपालको सन्दर्भमा गफ दिन थालिन । निकै महिना दुईबीच च्याट चल्यो ।

यही क्रममा सन्तोषले युवतीलाई ‘आई लभ यु’ भने । सन्तोषको प्रस्तावबाट युवती रोमाञ्चित भइन । उनले पनि जवाफमा ‘आई लब यु टु’ लेखी पठाइन । अब दुईबीच माया पिरतीबाट गफ चल्न थाले । घन्टौँसम्मको गफबाट दुवै रोमाञ्चित हुन्थे ।

यस क्रममा उनीहरूबीच भ्वाइस च्याट हुनथाल्यो । गतिविधि यतिमा टुंगिएन । दुईबीच भिडियो कन्फरेन्स हुनथाले । यही क्रममा अब सन्तोषले आफ्ना नाङ्गो शरीरका फोटो पठाउन थाले । उनले युवतीलाई सोही गर्न भने । सुरुमा युवती मानिनन । तर, पछि उनले पनि आफ्ना शरीरका नांगो फोटो पठाउन थालिन ।

फोटोबाट सुरु भएको सम्बन्ध अब भिडियो ‘लाइभ’मार्फत पनि एकले अर्काको शरीर हेर्ने क्रमसम्म पुग्यो । यही क्रममा संवेदनशील अंगका फोटो तथा भिडियो पनि आदानप्रदान चल्यो । दुवैबीचको खुसामद रोमाञ्चित ढंगले अघि बढ्दै थियो यही क्रममा सन्तोषले एक दिन युवतीसँग १४ हजार अमेरिकी डलर आवश्यक परेको सुनाए । युवती चुपचाप रहिन ।

सन्तोषले अब २५ हजार अमेरिकी डलर आवश्यक परेको सुनाए । युवती यसपटक पनि चुपचाप नै रहिन । केही दिन दुईबीचको सम्वाद रोकियो । युवती आफ्नै धुनमा लागिन । केही दिनपछि युवतीको च्याट बक्समा एउटा एसएमएस आयो ।

एसएमएस सन्तोषकै फेसबुक आइडीबाट आएको थियो । जहाँ भनिएको थियो, ‘मलाई २५ हजार अमेरिकी डलर देऊ । नत्र तिम्रो भिडियो पोर्न वेभमा भाइरल बनाइदिन्छु ।’ म्यासेजमा पैसा दिन बंगलादेश आउन भनिएको थियो ।

युवती अब भने छाँगाबाट खसेझैँ भइन । अब के गर्ने कुनै मेसो पाउन सकिनन । सन्तोषको धम्की रोकिएन । उनले युवतीको फोटो तथा भिडियो रेकर्ड गरेका थिए । उक्त फोटो र भिडियो पुनः युवतीलाई पठाउन थाले । हुँदाहुँदा युवतीको भिडियो पोर्न वेभमा अपलोड गरेको फोटोसमेत ‘स्क्रिन सर्ट’ गरेर युवतीलाई म्यासेज गर्न थाले ।

तनाबमा रहेकी युवतीले समस्या दिदीसँग भनिन । यस्तो गतिविधिबाट दिदी छक्क परिन । अब उनीहरूलाई यसको कानुनी उपचार खोज्ने जुक्ति फुर्यो । दुवैजना महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा उजुरी दिन पुगे ।

प्रहरीले सन्तोष नामको फेसबुक आइडीमाथि अनुसन्धान सुरु गर्यो । उक्त आइडी बंगलादेशस्थित ग्रामीण टेलिकमको आइपी सर्भर प्रयोग गरी खोलिएको रहेछ । जसलाई नेपालको साइबर कानुनले छुँदैन ।

फेसबुक आइडी बन्द गर्न प्रहरीले सिंगापुरस्थित फेसबुकको एसिया प्यासेफिक रिजन अफिमलाई पत्र लेख्यो । तर, उसले आइडी बन्द गर्न नसक्ने व्यहोराको पत्र लेख्यो । अन्ततः प्रहरी बंगलादेश नै पुग्यो । बंगलादेशका प्रहरीलाई उक्त व्यक्ति पक्राउ गर्न नेपाल प्रहरीले अनुरोध गर्यो । तर, बंगलादेश प्रहरीले उक्त व्यक्तिलाई अँझैसम्म पक्राउ गरेको छैन ।

 

यस्तै खालको अर्को घटनामा काठमाडौंका २६ वर्षीय एक युवक र पिलिपिन्सकी एक युवतीबीच फेसबुकमा गफ हुन थाल्यो । फोन नम्बर आदानप्रदान भयो । गफ अब भाइबरमा पनि सुरु भयो । घन्टौँसम्म दुईबीच गफ चल्थे । गफमा उनीहरू रमाइरहेका थिए ।

एक दिन युवकको च्याट बक्समा युवतीको न्युड फोटो आयो । यसले युवकलाई खुब रोमाञ्चित बनायो । युवकले ‘नाइस’ रिप्लाइ दिए । हौसिएकी युवतीले अब न्युड भिडियो नै पठाउन थालिन । यही क्रममा उनले युवकलाई पनि त्यस्तै गर्न प्रस्ताव गरिन ।

युवकले प्रस्ताव स्वीकार गरे । अब उनले पनि न्युड फोटो र भिडियो खिचेर पठाउन थाले । यसै क्रममा अब लाइभ भिडियोसम्म पुग्यो । दुवैजना रमाइरहेका थिए । यही क्रममा युवतीले युवकलाई दुई हजार अमेरिकी डलर मागिन । उक्त रकम पठाउन युवक राजी पनि भए । युवतीसँग बैंक एकाउन्ट मागे ।

पैसा पठाउन अब युवक बैंक पुगे । तर, बैंकले पैसा पठाउन मानेन । विनाप्रयोजन बाहिरी मुलुकमा पैसा पठाउन नसक्ने बैंकको धारणा थियो । उनले सो कुरा युवतीलाई भने ।

युवतीले अब उक्त भिडियो पोर्न साईटमा हाल्ने धम्की दिन थालिन । फेसबुक वालमा भिडियो अपलोड गरी भाइरल बनाइदिने भन्न थालिन । तनाबमा आएका युवा अब कानुनी उपचारका लागि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा पुगे । प्रहरीले घटना अनुसन्धान गर्यो ।

युवतीको भेषमा भिडियो पठाउने उक्त व्यक्ति फिलिपिनो प्रहरी भएको खुल्यो । उसलाई पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । किनकि, नेपालको साइबर कानुनको क्षेत्राधिकारभित्र त्यो समेटिँदैन ।

सामाजिक सञ्जालको च्याट, कल सबै डाटा सिधै अमेरिका
प्रहरीको तथ्यांकअनुसार सामाजिक सञ्जाल प्रयोगबाट हुने साइबर अपराध प्रत्येक वर्ष ३१ प्रतिशतका दरले वृद्धि भएका छन । दूर सञ्चार प्राधिकरण पनि सामाजिक सञ्जाल सरकारको नियन्त्रणभित्र नहुँदा अपराध अनुसन्धानमा गम्भीर असर परेको बताउँछ । किनकि, सामाजिक सञ्जालको रेकर्ड गर्ने सिस्टम नै नेपालमा छैन ।

सामाजिक सञ्जालमार्फत गरिएका फोन तथा च्याटको सबै रेकर्ड सर्भरमार्पmत अमेरिका नै पुग्छ । त्यसो हुँदा नेपालमा सामाजिक सञ्जालमार्फत गरिएका फोन कल तथा च्याटको रेकर्ड अमेरिकास्थित सम्बन्धित सेवा प्रदायक कम्पनीकै कार्यालयमा हुन्छ । उक्त रेकर्ड उनीहरू जोकोहीलाई उपलब्ध गराउँदैनन । उपलब्ध गराउनुपर्ने बाध्यता पनि उनीहरूलाई छैन ।

सामाजिक सञ्जालमार्फत गरिएको ‘मोबाइल कल’ तथा ‘च्याट’ को ‘डिटेल हिस्ट्री’ सामाजिक सञ्जालको प्रधान कार्यालयबाहेक अन्य ठाउँमा हुँदैन । नेपालमा प्रयोग हुने अधिकांश सामाजिक सञ्जालको प्रधान कार्यालय अमेरिकामा छन । सामाजिक सञ्जालमार्फत गरिएका ‘मोबाइल कल’ तथा ‘च्याट’को ‘डिटेल हिस्ट्री’ लिनुपर्दा उक्त कार्यालयमा निवेदन दिनुपर्छ । तर, माग बमोजिमको ‘मोबाइल कल’ तथा ‘च्याट’ को ‘डिटेल हिस्ट्री’ उपलब्ध गराउन उक्त कार्यालयलाई कुनै कानुनी बाध्यता छैन । त्यसो हुँदा उसले मागिएको विवरण दिँदैन ।

विद्युतीय करोबार ऐनअन्तरर्गत अभियुक्तविरुद्ध कारबाही अघि बढाउन यसको ‘मोबाइल कल’ तथा ‘च्याट’को ‘डिटेल हिस्ट्री’ आवश्यक पर्छ । विवरण नै नभएपछि अभियुक्तविरुद्धको मुद्दा प्रमाणित गर्ने कुनै आधार हुँदैन । त्यसो हुँदा सामाजिक सञ्जालमार्फत् गरिएका अपराध विद्युतीय कारोबार ऐनले छुँदैन । पछिल्ला दिनमा अपराधीले यसैको फाइदा उठउँदै अपराध कार्यमा सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको पाइएको छ ।

सामाजीक सञ्जालको असुबिधाको सिकार भईन परी तामाङ्ग
सामाजीक सञ्जालको यही असुविधाको सिकार भएकी छिन सर्ट मुभी खेल्दै आएकी कलाकार परी तामाङ्ग पनि । उनी प्रेमीसँग लिभिङ टुगेदरमा थिईन । त्यसो हुँदा दुईबीच सबै खालका सम्बन्ध भइसकेका थिए । यही क्रममा दुईबीच राजीखुसीसँगै शारीरिक सम्बन्धको भिडियो खिचियो । भिडियो दुवैले सेयर गरे । दुईबीच विवाहको कुरा चल्दै थियो । अचानक दुईबीच खटपट भयो । बोलचाल बन्द भयो । सम्बन्धमा खटपट आयो ।

यही क्रममा दुईबीच शारीरिक सम्बन्ध भएको भिडियो यु ट्युबमा पोस्ट भयो । भिडियो रातारात भाइरल बन्यो । उनी तनाबमा परिन । कानुनी उपचारका लागि उनी महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा पुगिन । अनुसन्धानपछि थाहा भयो, उनको भिडियो उनकै फेक आइडी बनाएर अपलोड गरिएको रहेछ ।

प्रहरीको अनुरोधपछि उनको भिडियो भने हटाइसकिएको छ । तर, घटनालाई प्रहरीले सार्वजनिक गरेको छैन । अनुसन्धानकै क्रममा भएकाले घटना सार्वजनिक नगरिएको महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले बताए । उनले भने–‘अपलोड भएको भिडियो हटाइएको छ । घटना शंकास्पद छ । अनुसन्धान भइरहेको छ । यस सम्बन्धमा थप नभनौँ ।’

पीडित भनिएकी युवतीले उक्त भिडियो ‘ब्ल्याकमेल’ सफल नभएपछि लिक गराएको सार्वजनिक गरेकी छिन । उनले भनेकी छिन–‘सानो गल्तीले भिडियो खिचियो । त्यसमा देखिएका पुरुष मेरै प्रेमी हुन । मेरो फेक आइडी बनाएर भिडियो अपलोड भयो । ब्ल्याकमेल सफल नभएपछि यस्तो गरिएको हो । यसले मलाई अहिले मर्नु न बाँच्नु बनाएको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्