सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बेपत्ता लोहनीसँगै पौडी खेल्न गएका साथीको बयान

गत शनिबार साथीहरुसँगै पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका नुवाकोटका दिवाकर लोहनीको अवस्था अँझै अज्ञात रहेको छ । जापानको तोचिगीस्थित ओमोईगावा खोलामा पौडी खेल्ने क्रममा एक्कासी खोलाले बगाएर बेपत्ता भएका लोहनी अँझै फेला नपर्दा परिवारमा झन पिडा र शोक थपिएको छ ।

जापानस्थित तोचिगीसीमा बस्दै आएका लोहनी अन्य ४ जना साथीसहित पौडी खेल्न गएका थिए । उनीसँगै पौडी खेल्न गएका साथीहरुका अनुसार खोलामा गएको ५ मिनेट पनि नहुँदै ३ देखी सवा ३ बजे वरीपरी यो घटना भएको हो । उनीसँगै पौडी खेल्न गएका एनआरएनए जापान, तोचिगीका संयोजक समेत रहेका विकास वस्नेतका अनुसार आफुहरु कपडा खोल्न नपाउँदै उनी खोलामा हाम फालेका थिए ।

उनले हाम फालेको स्थान भन्दा माथी रहेका साथीहरुले लामो समयसम्म पनि बाहीर उनी ननिस्किएपछी विकासलाई लोहनी डुबेजस्तो छ भनेर खबर गरेपछी विकासले उनलाई तान्न खोलामा हाम फालेका थिए । केही छिन पछि पानीबाट उत्रिएका लोहनीले उनलाई निकाल्न भनी गएका विकासले ‘भाई ठिक छ ?’ भनि सोध्दा ‘ठिक छ दाई’(जापानी भाषामा दाईजोबु) समेत भनेको विकासले बताएका छन ।

विकासले बाहीर निस्कन आग्रह गर्दा उनले ठिक छ भनेपछी आफु खोलाबाट बाहिर निस्किएको र बाहिर निस्किएर पछाडी फर्केर हेर्दा लोहनीलाई नदेखेपछी आफुले संगै गएका अरु साथीहरुलाई उनी डुबेकोबारे जानकारी गराएको बताएका छन । त्यसपछी सबैजना मिलेर खोज्दा पनि उनलाई फेला पार्न नसकेपछी उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

एभेरष्टवालसँगको कुराकानीका क्रममा विकास वस्नेतले फोन गरेको ८/१० मिनेट पनि नबित्दै प्रहरी खोलामा आईसकेको थियो । फोनमा बोल्दाबोल्दै प्रहरी घटनास्थल आएर तत्कालै खोजी सुरु गरेको थियो । प्रहरी घटनास्थल आएको ५/७ मिनेटमै हेलिकप्टर समेत आएर खोजी गरेको थियो ।

वेपत्ता भएका लोहनीलाई खोज्न प्रविधिसहितका तालिमप्राप्त उद्दारकर्ताहरु निरन्तर ३ दिनसम्म खटिए पनि उनलाई फेला पार्न नसकेको प्रहरीले बताएको छ । डुङ्गा, अक्सिजनसहितका प्राविधिक उद्दारकर्ता, फायरफाईटरको टिमले खोला मुनि क्यामेरा लगाएर समेत खोज्दा पनि लोहनीलाई फेला पार्न सकेको छैन ।

चौथो दिनदेखी बर्षाका कारण खोलामा पानीको सतह बढेपछी खोज्ने शैली परिवर्तन गरेको बताईएको छ । प्रहरीले अहीले पनि खोजी कार्य जारी रहेको जनाएको छ । बुधबार मात्रै नुवाकोट समाज जापानका कोषाध्यक्ष आलोक श्रेष्ठ र जनप्रगतिशिल मंच जापानका महासचिव श्यामहरी पाण्डे घटनाबारे बुझ्न घटनास्थल र प्रहरीकोमा पुगेका थिए ।

बिहिबार पनि एनआरएन जापानका उपाध्यक्ष देवीलाल भण्डारी, नुवाकोट समाजका अध्यक्ष जिबन केसी, कास्की समाजका अध्यक्ष शिब पौडेल घटनाबारे बुझ्न घटना स्थल र प्रहरी कार्यालय गएका थिए । दुबै टोलीसँग प्रहरीले खोजी कार्य जारी रहेको बताएको थियो ।

यतिबेला खोलामा पानीको सतह बढेकाले उनलाई भेटाउने सम्भावना निकै कम देखिन्छ । जापान प्रहरीले लोहनीसँगै पौडी खेल्न गएका चारै जनासँग घटनाबारे एक्लाएक्लै बयान लिईसकेको छ । बेपत्ता भएका लोहनीसँगै पौडी खेल्न जानेमा भक्तपुर घर भई हाल जापानको तोचिगी बस्दै आएका विकास वस्नेत, काठमाण्डौका कुवेर क्षेत्री, पोखराका अर्जुन रोका पुन र चितवनका सतिश मल्ल रहेका छन ।

घटना घटेको स्थान राजमार्गको पुलमुनि छ । घटना घटेको बेला नजिकै ४ जना जापानी नागरिक पनि रहेको र उनीहरुसँग पनि प्रहरीले सोधपुछ गरेको बताईएको छ । लोहनी बेपत्ता भएको अन्दाजी एक डेढ घण्टापछी माछा मार्दै आएको एक जापानी नागरिकले खोलाले बगाउँदै गरेको एकजना मान्छे आफुले देखेको कुरा प्रहरीलाई बताएको सँगै पौडी खेल्न गएका सतिस मल्लले बताएका छन ।

खोजकर्ताहरुले सो व्यक्तिले भनेको स्थानतिर समेत वेपत्ता लोहनीको व्यापक खोजतलास गरिसकेको छ । खोलामा पौडी खेल्नुपुर्व लोहनी र अन्य दुई जनाले मादक पदार्थ (वियर) सेवन गरेर गएको साथीहरुले बताएका छन । पौडी खेल्न जाने क्रममा पनि उनीहरुले थप अन्दाजी ८/१० ओटा क्यान वियर किनेर लगेको (नखाएको) बताएका छन ।

लोहनीको सोधखोजको बारेमा गैर आवासीय नेपाली संघ र नेपाली दुतावासले संस्थागत रुपमा चासो नदेखाएको भन्दै जापानमा रहेका लोहनीका आफन्त र नेपालीहरुले गुनासो गरेका छन । उता खोलाले बगाएको लामो समयसम्म पनि लोहनीको अवस्था अज्ञात रहँदा नेपालमा रहेको उनको परिवार चिन्ता र शोकमा डुबेको छ ।

अनिल शाही
जापान

फेसबुकबाट कमेन्ट गर्नुहोस्