सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मोदीको भ्रमणमा माओवादी मन्त्री किन भए वाईपास ?

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अत्यन्त सफल भनिरहँदा सत्ता साझेदार माओवादी केन्द्र भने रुष्ट देखिएको छ । स्रोतका अनुसार मोदी भारत फर्किए लगत्तै प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेट भएको थियो ।

भेटमा एमाले अध्यक्षसमेत रहेका ओलीले मोदीको भ्रमण अत्यन्त सफल भएको र आफू निकै प्रसन्न रहेको सुनाएका थिए । तर, प्रचण्डले औपचारिक प्रतिक्रिया मात्र दिएको बताईएको छ । उनले रिजर्व बसेर मोदीको भ्रमणमा आफूहरुलाई बाइपास गरेकोमा असन्तुष्टि जनाएको उनी निकट स्रोतले जनाएको छ ।

एमाले र माओवादी पार्टी एकताको प्रक्रियामा छन् र सत्तारुढ प्रमुख घटक हुन् । तर, भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा आफूहरुलाई त्यस अनुसार व्यवहार नभएकोमा माओवादी नेताहरु असन्तुष्ट देखिएका छन् । माओवादी केन्द्रको पहिलो असहमति हो, सत्तारुढ दलको हैसियतमा छलफल नै भएन ।

मोदी नेपाल आउनपूर्व प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्रमामिलाका जानकारहरुसँग परामर्श गरे । तर, सत्तारुढ घटकका रुपमा ओलीले माओवादी नेतृत्व र मन्त्रीहरुसँग कुनै छलफल नै गरेनन् ।

माओवादीको दोस्रो अहसहमति हो, वर्षमान पुन र शक्तिबहादुर बस्नेतलाई वाइपास गरिनु । २८ गते प्रधानमन्त्री ओली र मोदीबीच द्वारिकाज होटलमा वान टु वान वार्ता भयो ।

लगत्तै द्वीपक्षीय वार्ता भयो र दुई प्रधानमन्त्रीले अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गरे । तर, उर्जामन्त्री वर्षमान पुन देखिएनन् । उनलाई नेपाली टोलीमा समावेश नै नगरिएको माओवादी निकट स्रोतको दाबी छ ।

द्वीपक्षीय वार्तामा माओवादीबाट मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा बादल मात्र थिए । एक नेता भन्छन, ‘यो भ्रमणका क्रममा भएका वार्ताहरुमा उर्जामन्त्री र वनमन्त्री (शक्ति बस्नेत) लाई समावेश नै गरिएन । यसमा हाम्रो असन्तुष्टि छ ।’

द्वीपक्षीय वार्तामा उर्जा, जलश्रोत र सिञ्चाइका विषय थुप्रै थिए र छलफल पनि भए । तर, सम्बन्धित मन्त्रीलाई सहभागी नगराउनु गम्भीर भएको भन्दै माओवादीका एक नेताले यसबारे प्रधानमन्त्रीसँग गम्भीर कुरा हुने बताएका छन् ।

एमाले र माओवादी केन्द्रबीच गत वैशाख ९ मा नै पार्टी एकता एकता गर्ने भनिएको थियो । तर, यो सम्भव भएन र जेठ पहिलो साताको नयाँ भाका राखिएको छ । तर, माओवादी र एमाले नेतृत्वमा भने अविश्वास बढ्दो छ ।

अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहतमा लगेको देखि सचिव सरुवाका असन्तुष्टि पहिल्यै थिए । यस बीचमा प्रचण्डलाई लक्षित गरी ओलीकोे ट्वीट आयो, जसले विवादलाई मलजल र्गयो ।

मोदीको भ्रमणमा माओवादीका दुई मन्त्रीलाई वाइपास गर्दा एमाले नेतृत्व र त्यसमा पनि प्रधानमन्त्री ओलीप्रति रहेको आशंका थप बढाएको नेताहरु बताउँछन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्