सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गृहमन्त्री नै भन्छन–‘तस्कर र गुण्डाको हातमा देश’

अहिलेसम्म जनताले भन्थे, ‘यो देश माफियाको हातमा छ । सरकार तस्करले चलाउँछन् । ठेकेदारको हातमा देशको अर्थतन्त्र छ ।’ तर, अब गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आफैंले देश माफिया, ठेकेदार र तस्करको हातमा रहेको बताउन थालेका छन् ।

गृहमन्त्री थापाले देश ठेकेदार, तस्कर र माफियाको कब्जामा रहेको भन्दै यसको अन्त्य गर्नुपर्ने बताएका हुन् । ‘देशको अर्थतन्त्र ठेकेदारको हातमा छ, जसले अर्बौंको राजश्व छलि गरेका छन,’ पोखरामा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले भने, ‘देश तस्करको हातमा छ जसले तस्करी गरिरहेका छन् ।’

देशमा मुठीभरको वर्चश्व रहेको भन्दै उनले आर्थिक समृद्धिको बाधक त्यही भएको बताएका छन । हरेक क्षेत्रको एकाधिकार नतोडी समृद्धि सम्भव नभएको उनले बताएका हुन् । ‘हरेक क्षेत्रमा एकाधिकार र कालोबजारीया छ,’ थापाले भने, ‘त्यसको अन्त्य विना विकास सम्भव छैन ।’

भ्रष्टाचार र एकाधिकारको प्रणालीलाई समाप्ति गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो । नेपाल विकासको दृष्टिकोणमा पछाडि पर्नुको मुख्य कारण दरिद्रता र पछौटेपन भएको गृहमन्त्री थापाले बताएका छन । थापाले भने–‘जसका कारण युवा जनशक्ति पलायन छन । सुशासन र समृद्धिविना यी युवा फर्काउन सम्भव छैन ।’

विकासको अर्को वाधक लागूपदार्थ रहेको उनले बताएका छन । लागू पदार्थको कारोबारले देशका कर्णधारहरुको भविष्य दलदलमा फस्दै गएको थापाले बताएका छन । लागू औषध, भ्रष्टाचार, एकाधिकार, गुन्डागर्दी, राजनीतिक आवरणमा उच्छृंखल क्रियाकलाप गर्ने समूह अहिलेको मुख्य चुनौति रहेको गृहमन्त्री थापाको निष्कर्ष छ ।

गृहमन्त्री थापाले मन्दिरको नियन्त्रण र व्यवस्थापन गर्न गृहमन्त्रालयले छिट्टै अभियान चलाउने बताएका छन् । सरकारले राजश्व नतिर्ने उद्योगी, व्यवसायी र हैकमवादीको अन्त्य गर्न चाहेको पनि गृहमन्त्री थापाले स्पष्ट पारेका छन ।

स्थायी सरकार र देश समृद्धिको बाटोमा हिँडिरहेका बेला हिंसा भड्काउने कसैलाई पनि नछोड्न आइतबार सुरक्षा बैठकमा गृहमन्त्री थापाले निर्देशन दिएका थिए । राजनीतिक, धार्मिक आवरणमा हिंसा भड्काउने समूहलाई पूर्ण समाप्त पार्ने उनको भनाइ थियो ।

‘धार्मिक हिंसा भड्काउने काम पनि भइरहेको छ,’ माओवादी नेतासमेत रहेका गृहमन्त्री थापाले भने, ‘क्षेत्रीय नारा दिएर देश विखन्डन गर्ने काम पनि भइरहेको छ । सरकारले ति सबैलाई ठेगान लगाउँछ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका बेला उठेको स्वतन्त्र मधेसको ब्यानर देखिएकोप्रति संकेत गर्दै थापाले भने, ‘अलग देश र विखन्डन गर्ने कसैलाई छुट छैन ।’

गृहमन्त्री थापाले विकास र शान्ति सुरक्षामा बाधा र्पुयाउने गुन्डाहरुको लिस्ट तयार भइरहेको बताएका छन् । ‘गुन्डाराजको छिटोभन्दा छिटोभन्दा अन्त्य गर्छौं,’ गृहमन्त्री थापाले भने, ‘सबै गाउँमा गुन्डाहरुको ब्ल्याक लिस्ट तयार हुँदैछ ।’

नेपाल प्रहरीमा लामो समयदेखि बढुवा रोकिएको थियो । त्यसमा पनि डिआइजीको बढुवा लामो समयदेखि नहुँदा प्रहरीभित्र ठूलो खैलाबैला नै मच्चिएको थियोे । प्रहरीभित्र सबै तहको बढुवा गर्नका लागि तल्लो तहबाट बढुवाको थालनी गरिएको उनले बताए । ‘तल्लो तहबाट बढुवा थालिएको छ,’ गृहमन्त्री थापाले भने, ‘अब डिआइजीहरुको पनि बुढो नहुँदै बढुवा हुन्छ ।’

दुई वाम शक्ति मिलेर शक्तिशाली कम्युनिस्ट पार्टीको उदय हुन लागेको गृहमन्त्री थापाले बताएका छन् । शान्ति सुशासन र समृद्धिका लागि पार्टी एकता अनिवार्य बनेको उनले बताएका छन । स्थायित्व र विकासका लागि दल एक कठ हुनुको विकल्प नरहेको उनको भनाइ थियो ।

पार्टी एकताको सबै गृहकार्य भए पनि एकताको मिति भने तय भइनसकेको उनको भनाइ थियो । ‘यही दिन पार्टी एकता हुन्छ भनेर मैले भन्ने कुरा पनि हुँदैन, मैले भनेर पनि हुँदैन,’ गृहमन्त्री थापाले भने, ‘मिति तोकिइसकेको छैन तर पार्टी एकताका पूर्वाधार तयार भइसके ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्