सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पार्टी एकताबारे हल्ला चलाउने भोली बालुवाटार आउनु

सत्ताधारी दल माओवादी केन्द्र र एमालेबीच हुने भनिएको पार्टी एकता प्रक्रियामा चिसोपना आएको भनि हल्ला चलाउनेहरुलाई भोली बालुवाटार आउन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन ।

आज मंगलबार राष्ट्रियसभा गृहमा आयोजित युवा संघ नेपालको २८ औं स्थापना दिवस समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले पार्टी एकतालाई कसैले रोक्न नसक्ने दाबी गरेका छन ।

सम्बोधनमा ओलीले भनेका छन–‘अहिले एमाले एकतिर मुख फर्काउने, माओवादी अर्कोतिर मुख फर्काउने भनेर टिका–टिप्पणी भैरहेका छन् । त्यस्तो टिका–टिप्पणी गर्नेलाई भोली ४ बजे बालुवाटारमा आउन आग्रह गर्छु ।’ यद्यपि, उनले भोली ४ बजे बालुवाटारमा के हुन्छ भन्ने कुरा भने खुलाएका छैनन् ।

पछिल्ला दिन दुई पार्टीबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई हेर्ने दृष्टिकोण, अरुण तेश्रो सम्बन्धी सम्झौता कार्यक्रममा विभागीय मन्त्रीलाई नसमेटको भन्ने विषयमा विवाद देखिएको थियो ।

माओवादी केन्द्रकी प्रवक्ता एवम् सांसद पम्फा भुसालले भारतसँग भएको अरुण तेस्रोसम्बन्धी सम्झौता संविधान विपरित भएको बताएकी थिइन् । यसबाहेक पार्टी एकताका सन्दर्भमा पनि भागबण्डा, एजेण्डाका साथै चुनाव चिन्ह र झण्डा लगायतका विषयमा पनि विवाद देखिँदै आएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्