मकालु एयरको विमान दुर्घटना, दुवै चालकको मृत्यु
मकालु एयरको जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको छ । जहाजमा सवार चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको मृत्यु भएको प्रहरी प्रमुख डिआइजी सुरेश शाहले जानकारी दिएका छन ।
उनीहरुको शव हेलिकोप्टरबाट सुर्खेत ल्याईएको छ । एजेयू–नाइन–एन कलसाइनको जहाज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेतबाट कार्गो सामान लिएर हुम्लाको सिमकोट उडेको थियो । दुर्घटनास्थल सिमकोटदेखि १० दशमलब ७ नटिकल माइल दक्षिण–पश्चिम राया र थालीको बीचमा पर्छ । डिआइजी शाहले जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको बताएका छन ।
जहाज हराएको सुचना पाउने बित्तिकै नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजमा खटेको थियो । बाजुरा, मुगु र हुम्ला प्रहरीले आ–आफ्नो क्षेत्रमा खोजी गरेका थिए । तर, स्थानीयले जहाज देखेको सुचना दिएपछि सिमकोटबाट नेपाल प्रहरीका असई, नागरिक उड्डयन प्राधिकरणका एकजना कर्मचारी र दुईजना मेडिकल सदस्य रहेको टोली त्यहाँ पुगेको थियो ।
दुर्घटनास्थल गएको टोलीले शव निकाल्न नसकेपछि सिमकोटबाट हेलिकोप्टरमा थप जनशक्ति लगिएको थियो । घटनास्थल समुद्री सतहदेखि १२ हजार ८ सय फिट उचाईमा अवस्थित छ । ९ एन एजेयु कल साइन भएको सो जहाजमा क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्य नेपाली मात्र सवार थिए ।
आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको सो जहाज केहीबेर पछि नै सम्पर्कबिहीन भएको थियो । सो जहाज ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो । सिंगल इन्जिन भएको सो जहाज सुर्खेतबाट कार्गो लोड गरेर हुम्ला सदरमुकाम सिमकोटका लागि उडेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्