प्रदेश सरकार नै संविधानबिरोधी मुख्यमन्त्रीको बचाउमा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्रीले ‘आफुहरु संविधानका बिरुद्ध रहेको’ भनि दिएको अभिव्यक्तिमाथि बहस गर्नु औचित्यहीन भएको प्रदेश २ को सरकारले बताएको छ ।
वैशाख २८ गते नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला जनकपुरमा भएको नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभेदकारी संविधानविरुद्ध आफूहरु संघर्षरत रहेको बताएका थिए ।
मुख्यमन्त्रीले अन्तरिक मामिला विदेशी पाहुनासामू राख्नु कूटनीतिक मर्यादा विपरित भएको भन्दै केन्द्र सरकारले असन्तुष्टि जनाएको छ । प्रदेशसभामा पनि मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर चर्कै बहस भएपछि प्रदेश सरकारले यस्तो जवाफ दिएको हो ।
बिहीबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवले नागरिक अभिनन्दन कार्यक्रममा मुख्यमन्त्रीले जनताको इच्छा र आकांक्षा अभिव्यक्त गरेको बताएका थिए ।
‘जनताको भावना बमोजिम अभिव्यक्ति दिनु नेतृत्वको दायित्व हुन्छ । सोही दायित्व सम्झेर मुख्यमन्त्रीले लाखौं जनताका अगाडि आफ्ना कुरा राख्नु भएको हो, संविधानमा अँझै त्रुटी र विभेदका कुराहरु छन् ।’
संविधानमा भएका विभेदकारी प्रावधान र प्रदेशको अधिकारका लागि आफ्नो धारणा राख्नु गलत नभएको मन्त्री यादवले बताएका थिए । उनले भनेका छन–‘जनमतले दिएको म्यान्डेट नेतृत्वले उठाउनु स्वभाविक हो । त्यसकारण मुख्यमन्त्रीको भनाइका सन्दर्भमा भइरहेको टिकाटिप्पणीको कुनै औचित्य छैन ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्