सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पैसा असुल्न नपाएपछी मलेसिया जाने प्रक्रिया रोकियो

श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले सरकारीसहित सबै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गर्ने निर्णय गरेपछि व्यवसायीले बायोमेट्रिक स्वास्थ्य परीक्षण बन्द गराएका छन् ।

माइग्राम्स र बायोमेट्रिक स्वास्थ्य परिक्षण बन्द भएसँगै तत्कालका लागि बैदेशिक रोजगारका लागी मलेसियामा जाने प्रक्रिया रोकिएको छ । अब नयाँ कामदारले स्वास्थ्य परीक्षण गर्नै नपाउने भएका छन् । यसले गर्दा कामका लागी मलेसिया जाने प्रक्रिया रोकिएको छ ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले मलेसिया जाने कामदारमाथि अवैधानिक रुपमा लादिएका सबै सिन्डिकेट खारेजीको घोषणा गरेपछि स्वास्थ्य संस्थाले सरकारलाई दबावमा पार्ने गरी परीक्षण रोकेका हुन् ।

श्रम मन्त्रालयलै गैरकानुनी रुपमा कामदारमाथि आर्थिक भार हुने गरी शुल्क उठाउने संस्था र संयन्त्रमाथि अनुसन्धान गरेर कारवाही गर्न गृहमन्त्रालयलाई सिफारिस गरेको थियो ।

यो लगत्तै मलेसिया जाने कामदारको हकमा लागू गरिएको माइग्राम्स र बायोमेट्रिक बन्द भएका छन् । मन्त्री विष्टले सरकारले मान्यता दिएका सबै स्वास्थ्य संस्थाले मेडिकल गराउन पाउने निर्णय गर्दै सिन्डिकेट खारेजीको घोषणा गरेका थिए ।

यो लगत्तै पक्राउ परिने डरले स्वास्थ्य व्यवसायीले स्वास्थ्य परीक्षण रोकेका हुन् । सरकारले माइग्राम्स, बायोमेट्रिक, आईएससी, भिएलएन र ओएससीको सबै काम कारवाही तत्काल बन्द गर्न कुटनीतिक पहल थालेको थियो ।

मलेसिया जाने नेपाली कामदारहरुमथि विभिन्न नाममा अतिरिक्त शुल्क बुझाउनुपर्छ । भिसा शुल्क बापत नेपालस्थित मलेसियन दूतावासले सात सय रुपैयाँ लिन्छ । तर, यसबाहेक कामदारले झण्डै १७ हजार रुपैयाँ विभिन्न संघसंस्थाहरूलाई बुझाउनुपर्छ ।

भीएलएन नामक संस्थाले भिसा प्रक्रियाका नाममा पाँच वर्षदेखि ३२ सय रुपैयाँ असुल्दै आएको छ । त्यस्तै, वान स्टप सेन्टरले राहदानी संकलनका नाममा २८ सय रुपैयाँ संकलन गर्छ ।

माइग्राम नामको संस्थाले पनि विगत दुई वर्षदेखि नेपाली कामदारबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिकामदार ३२ सय रुपैयाँ शुल्क उठाउँदै आएको छ । वायोमेट्रिकका नाममा अर्को ४५ सय रुपैयाँ बुझाउनुपर्छ ।

दुई वर्ष अघिदेखि आपराधिक गतिविधिमा संलग्न भए/नभएको परीक्षण गर्ने नाममा जिएससी भन्ने संस्था खडा गरेर (आईएससी)का नाममा प्रतिकामदार थप ३ हजार २ सय रुपैयाँ शुल्कको भार पनि थोपरिँदै आएको छ ।

झण्डै पाँच वर्षअघिदेखि मलेसियन सरकारकै संरक्षकत्वमा यी संस्थाले नेपाली कामदारबाट अतिरिक्त शुल्क असुल्दै आएका छन् । तर, नेपाल सरकारले एकतर्फी रुपमा सबै अतिरिक्त शुल्क खारेजको निर्णय लिएको छ । एकपक्षीय रुपमा लगाईएका यस्ता सिन्डिकेटले गरिब कामदार मर्कामा छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्