सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सनमको हत्यारा गोरे पनि अपहरण परेको खुलासा

गृह मन्त्रालयले बनाएको छानबिन समितिले पछिल्ला पाँच वर्षमा झन्डै ३८ क्विन्टल तस्करीको सुन नेपाल भित्रिएको निष्कर्ष निकालेको छ । यो तस्करीका मुख्य पात्र हुन, मोरङका चुडामणि उप्रेती उर्फ गोरे ।

दुबई प्रहरीको जागिर छोडेर सुन तस्करीमा लागेका गोरे पछिल्लो समय फरार छन् । उनले दिएको यातनाबाट सुन भरिया सनम शाक्यको मृत्यु भएपछि गोरे फरार भएका हुन् ।

सनमलाई यातना दिनुअघि गोरे अपहरणमा परेको छानबिन समितिको अनुसन्धानबाट खुलेको छ । समिति स्रोतका अनुसार लुटिएको ३३ किलो सुनका मालिक मोहन अग्रवालले गोरेलाई अपहरण गरी यातना दिएका थिए ।

तस्करीको सुन ल्याउन त्रिभुवन विमानस्थलमा सेटिङ मिलाउने जिम्मा गोरेको थियो । सुन कहाँ, कसलाई, कहिले दिने चाँजोपाँजो राप्रपा (प्रजातान्त्रिक)का नेता भुजुङ गुरुङले मिलाउँथे ।

विमानस्थल आइपुगेको सुन एयरलाइन्सका कर्मचारीले भजुङले भनेको ठाउँ ल्याइदिन्थे । फागुन पहिलो साता दुबईबाट आएको तस्करीको ३३ किलो सुन भने लुटियो ।

विमानस्थलबाट आएको सुन भुजुङले भनेको मान्छेलाई दिन थाई एयरका लोडर सानु बन अनामनगर पुगे । त्यो दिन भुजुङ सुन अरूलाई दिने पक्षमा थिएनन् । बरू आफै लिने योजनामा थिए । गोरेले पठाएका मानिसले सानुबाट सुन लुटे ।

सुन लुटिएको खबर गोरे, भुजुङ हुँदै मोहन अग्रवालसम्म पुग्यो । ३३ किलो सुन अग्रवालले नै मगाएका थिए । ‘मलाई जसरी पनि सुन चाहिन्छ,’ भन्दै अग्रवालले सुन खोजी थाले ।

‘सुन कसले लुटेको नखुलेपछि अग्रवालले गोरेलाई नै अपहरण गरी अज्ञात स्थलमा लगे र यातना दिन थाले,’ समिति स्रोतले भन्यो । अग्रवालका केटाहरूको पिटाइबाट गोरे घाइते भए ।

‘जसरी भए पनि सुन निकाल्छु, दैनिक कामको प्रगति दिन्छु’ भन्ने वाचा गरेपछि अग्रवालले गोरेलाई छाडिदिए । अपहरणमुक्त भएपछि गोरेले हराएको सुन खोज्न भुजुङसँग कुरा गर्न खोजे । भुजुङले भेट्न मानेनन् । सहयोगी पठाए ।

भुजुङका सहयोगीसँग गोरेको बैठक बस्यो । गोरेले भने–‘हराएको सुन जसरी भएपनि खोज्नु पर्छ हैन भने मेरो बेहाल हुन्छ ।’ काम देखाउन उनले त्यो मिटिङको भिडियो बनाएर अग्रवाललाई पठाए ।

आफ्ना समूहका सबैको एकएक गर्दै वयान लिएर भिडियो बनाएर अग्रवाललाई पठाए । सनम शाक्यलाई यातना दिएको भिडियो पनि गोरेले अग्रवाललाई पठाउन बनाएका थिए ।

स्रोतका अनुसार अग्रवालको कुटाइबाट घाइते गोरेले सुन खोज्न भन्दै आफ्नै समूहका सबैलाई कुटे । यातना दिए । गोरेले सुरूमा गौरीघाटको एक वर्कसपमा लगेर केरकार थालेका थिए । गोरेको यातनाकै कारण सानु बनले पनि आत्महत्या गरेको छानबिन समितिको ठम्याइ छ ।

‘सुन नेपाल ल्याउने जिम्मा गोरेको भएकाले अग्रवालले भुजुङभन्दा पहिला गोरेलाई समाते र यातना दिए,’ स्रोतले भन्यो, ‘यातना पाएपछि गोरे झनै सुरो भयो र अरुलाई यातना दिन थाल्यो ।’

सनम शाक्यलाई यातना दिइरहेको एउटा भिडियोमा गोरेले सुन फेला नपरेको तनावले आफू २० किलो घटेको बताएका छन् । उनले भनेका छन–‘म २० किलो घटिसकें सुन कहाँ छ भन ।’

गोरेको यातना सहन नसकेर सनमको मृत्यु भयो । स्रोत भन्छ, ‘सुन लुटेरा र सानु बनबीच सम्बन्ध छ, हराएको सुन खोजी हुन थालेपछि सानुलाई लुटेरा समुहले मुख खोले बाँकी नराख्ने धम्की दिएका थिए, भने यता गोरेले त यसै यातना दिँदै आएका थिए, त्यही यातनाको तनावले सानुले आत्महत्या गरे ।’

गोरेले आफ्ना सहयोगीलाई नै दिएको यातनाका १८ ओटा भिडियो फेला परेका छन् । समितिले प्रमाणका रूपमा ती भिडियो अदालत पेश गरेको छ ।

सनमको हत्या गर्ने गोरेलाई यातना दिने अग्रवाल को हुन त ?
सुनसरी, धरानका अग्रवालको काठमाण्डौस्थित कालिकास्थनमा पनि घर छ । यसअघि पनि उनी तस्करीको सुनमा मुछिएका थिए । २०७० असार २६ गते केन्द्रीय अनुसन्धान ब्युरोले कोटेश्वरबाट बरामद गरेको ३५ किलो अवैध सुनका मालिक पनि अग्रवाल नै थिए ।

त्यो मुद्दामा उनी राजश्व अनुसन्धान विभागमा जरिवाना तिरेर उम्किए । सुरुमा उनी ग्याम्जो लामासँग मिलेर तस्करीको सुन काठमाडौं भित्र्याउने गर्थे । ०७२ को भूकम्पपछि तातोपानी नाका बन्द भएपछि उनी विमानस्थल हुँदै आउने सुनमा लागेको समितिको अनुसन्धानबाट खुलेको छ ।

अवैध तरिकाबाट आएको सुन अग्रवालले भोटेबहालमा राख्थे । त्यहीँबाट अग्रवालले भारतीय व्यापारीले अर्डर गरे अनुसार सुन भारत पठाउँथे । सनम शाक्यको हत्यापछि अग्रवाल अहिले फरार छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्