सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गृहमन्त्री थापाको नजर स्वास्थ्य, शिक्षा र तरकारीमा

यातायात क्षेत्रको सिण्डिकेट अन्त्यसँगै कडा रुपमा प्रस्तुत भएका गृहमन्त्री रामबहादुर थापाले एकपछी अर्को गर्दै सबै क्षेत्रको सिण्डिकेट अन्त्य गर्ने घोषणा गरेका छन । गृहमन्त्री बादलले बैठक राखेरै सबै क्षेत्रको सिन्डिकेट अन्त्य गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिईसकेका छन् ।

उनले आईतबार प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुलाई मन्त्रालयमा निर्देशन दिदै आफ्नो कार्यक्षेत्रमा रहेका सबै प्रकारका सिन्डिकेट जसरी पनि अन्त्य गर्नुपर्ने बताएका हुन् ।

‘यातायात क्षेत्रको सिन्डिकेट अन्त्यको प्रक्रियामा छ । अब स्वास्थ्य, शिक्षादेखि तरकारीसम्ममा रहेको सिन्डिकेट अन्त्य गर्न जरुरी छ,’ गृहमन्त्री बादलले भने, ‘तपाईंहरुले अब सम्हाल्ने कार्यक्षेत्रमा रहेका ती सबै किसिमका सिन्डिकेट हटाउनुहोस् ।’

उनले भ्रष्टचार र तस्करीलाई निस्तेज पार्नेगरी काम गर्न समेत प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन । ‘गृहमन्त्रालयले तपाईंहरुलाई विश्वास गरेर यो जिम्मेवारी दिएको छ, सबै जिम्मेवारी आफैमा महत्वपूर्ण छन,’ उनले भने, ‘हाम्रो अपेक्षा र विश्वास तपाईंहरुले पूरा गर्नुहुनेछ ।’

सरकारको लक्ष्य विकास र समृद्धि रहेको भन्दै त्यसका लागि सुशासन कायम गर्नु पहिलो शर्त रहेको गृहमन्त्री थापाको भनाइ छ । गृहमन्त्री बादलले भने–‘त्यो सुशासन कायम गर्ने प्रमुख जिम्मेवारी गृह मन्त्रालयको हो र त्यसमा पनि सुरक्षा निकायको प्रमुख जिम्मेवारी हो ।’

प्राकृतिक स्रोत र साधनको दोहन भइरहेको भन्दै आफ्नो प्रदेशमा तत्काल त्यो रोक्न पनि प्रदेश प्रहरी प्रमुखलाई उनले निर्देशन दिएका छन । यस्तै अशान्ति र अस्थिरता फैलाउने विरुद्ध कडा रुपमा प्रस्तुत हुनसमेत प्रहरी अधिकारीहरुलाई उनले निर्देशन दिएका छन ।

निर्देशनको क्रममा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र गृहमन्त्रीका सल्लाहकार सूर्यप्रकाश सुवेदीको उपस्थिति रहेको थियो । त्यस्तै बिभिन्न प्रदेशका प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान व्युरोको प्रमुख तथा महानगरीय प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी पाएका डीआईजीहरुको उपस्थिति थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्