सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

एसएसपी खत्रीलाई पक्राउ गरे सबै रहश्य खुल्छः गोरे

मंगलबार बिहान काठमाण्डौबाट पक्राउ परेका करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’ ले प्रारम्भीक बयानमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथील्लो जालो सबै खुल्ने बताएका छन ।

सुन तस्करीको अनुसन्धान गरिरहेको छानविन समितिले गोरेलाई मंगलबार विहान काठमाडौं–८, गौरीघाटबाट पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । उनलाई मंगलबार नै सार्वजनिक गरिएको छ र लगत्तै जिल्ला अदालत मोरङमा हाजिर पनि गराइएको छ ।

गृहमन्त्रालयद्वारा गठित छानबिन समितिले सार्वजनिक गर्नुअघि गोरेसँग बयान लिएको थियो । त्यस क्रममा उनले एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो नेक्सस खुल्ने बताएका छन् ।

गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटक पटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।

खत्री तिनै प्रहरी अधिकारी हुन, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो । फेरि सुनकाण्डमा उनको संलग्नता देखिएपछि छानविन समितिले वैशाख पहिलो साता बयानका लागि पत्र काटेको थियो । तर, बयानका लागि नगएका उनी फरार छन् ।

पूर्व डीआईजी गोविन्द निरौलासँगै एसपी खत्री र एसपी विकासराज खनाल ०७२/०७३ मा विमानस्थल प्रहरीमा थिए । त्यसवेला नै गोरेले तस्करीको सेटिङ मिलाएको पाईएको छ ।

खत्रीबाहेक ६ प्रहरी अधिकारीलाई जिल्ला अदालत, मोरङले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । तर, उनका ड्राइभर र अंगरक्षक भने धरौटीमा छुटेका छन ।

बयानका क्रममा गोरेले विमानस्थलका प्रहरी अधिकारीसँग सेटिङ मिलाएर सुन कटाउने गरेको स्वीकारेका छन् ।

उनको डायरीमा उल्लेखित विवरण अनुसारको रकम पूर्व डिआईजी निरौला, एसएसपी खत्री, एसपी विकासराज खनाल लगायतलाई दिएको पनि उनले स्वीकार गरेका हुन् ।

गृह मन्त्रालयका एक अधिकारीले भने अनुसार बयानका क्रममा उनी निकै त्रसित देखिन्थे । कहिले रुँदै मलाई हान्दिनु भन्थे त कहिले हाँस्ने गर्थें ।

गोरेल बयानका क्रममा आफ्नो काम सेटिङ मिलाउने र कमिशन लिने भएको बताएका छन् । उनले भनेका छन–‘दिनमा ८६ केजीसम्म सुन भित्र्याएका छौं । यत्रो सुनमा लगानी गर्ने मेरो हैसियत पनि छैन । मेरो पनि लगानी हुँदै नहुने चाहिँ होइन । अलिअलि पैसा कमाएको थिएँ । कहिले काहीँ थोरै परिमाण आफैं पनि ल्याउँथे ।’

उनले लगानीकर्ता मोहनकुमार अग्रवाल भएको बताएका छन् । साथै केही भारतीय पनि रहेको तर, उनीहरुसँग समन्वय अग्रवालले गर्ने गरेको उनको दाबी छ । उनले बयानमा भनेका छन–‘सुन हराएपछि मलाई दबाब थियो । त्यसैले सुन खोजीमा व्यापक रुपमा लागेका हौं ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS