सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मुग्लिन–नौबिसे खण्डमा त्रिशुली वारीपारीबाट गाडी

अनेक बिबाद र जटिलताका बापजुद मुग्लिन–नारायणगढ सडक खण्डको विस्तार कार्य सकिएपछि सरकारले अब नौबिसे–मुग्लिन खण्ड चार लेनको बनाउन गृहकार्य सुरु गरेको छ । यसका लागि विस्तृत डिजाइन समेत तयार भइसकेको छ ।

पृथ्वी राजमार्गमा सवारीको चाप बढ्दै गएपछि व्यवस्थापनका लागि नौबिसेसम्मको खण्ड पनि विस्तारको योजना बनेको हो । अब सम्भव भएका ठाउँमा अहिलेका रुटहरुमै सडकलाई चार लेनको बनाइनेछ । भित्ता काट्न नमिल्ने ठाउँहरुमा भने त्रिशुलीपारि दुई लेनका सडक बन्नेछन् ।

यो खण्ड विस्तारका लागि विश्व बैंकसँग आर्थिक सहयोगको लागि प्रस्ताव गरिएको सडक विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिएका छन । सुरुमा यो सडक चीन सरकारको सहयोगमा बनेको थियो ।

अब विश्व बैंकसँग ऋण सम्झौता भएपछि यो खण्डको विस्तार पनि सुरु हुनेछ । श्रेष्ठकाअनुसार अहिलेको सडक आवागमन नबिथोलिने गरी पहिला त्रिशुलीपारि २८ किलोमिटर खण्डमा ट्रयाक खोलिनेछ । यो २८ किलोमिटर खण्डमा सवारी आवागमनलाई सुचारु राखेर वारिपट्टी निर्माणको काम गरिनेछ ।

अप्ठेरा खण्डमा नदी वारि र पारि डेडिकेटेड २–२ लेन युक्त सडकहरु बन्नेछन् । राजधानी आउन यो सडकमार्ग मुख्य मानिन्छ । नौबिसेबाट नागढुंगासम्म सुरुङमार्ग बनाउने काम पनि अघि बढ्न लागेको छ । त्यसकारण नौबिसे–मुग्लिन खण्ड विस्तार भएपछि काठमाडौंसम्मको यात्रा निकै सरल हुने विश्वास सडक विभागको छ ।

झण्डै एक सय किलोमिटरको यो खण्ड विस्तार गर्दा पहिरो जाने गरी भित्ता काट्नेभन्दा नदीतर्फको भागबाट बलियो पर्खाल लगाउनेमा जोड दिने योजना छ । विस्तार गर्न नमिल्ने स्थानहरुमा भने नदीपारि दुई लेनको सडक बनाइनेछ ।

विशालटारदेखि फिस्लिङसम्मको दुई लेन सडक त्रिशूलीपारिबाट बनाउने लगभग तय भएको छ । कृष्णभीरको पहिरो पनि त्रिशुलीपारीबाटै सडक बनाएर छलिनेछ । यो सडक विस्तारका लागि करिब ३० अर्ब बढी लगानी लाग्ने अनुमान छ ।

यसरी सडक निर्माण गरिएमा विस्तारका क्रममा सवारी आवागमनलाई खासै प्रभाव नपर्ने अधिकारीहरुको दाबी छ । करिब ३ स्थानमा त्रिशुली नदी पार गरेर नयाँ ट्रयाकबाट गाडी चल्नेछन् ।

चितवन र पोखराबाट आउने गाडीले नदीपारिको सडकमार्ग प्रयोग गर्ने छन् भने काठमाडौंबाट छुटेकाले अहिलेकै सडकको प्रयोग गर्ने व्यवस्था गरिनेछ । यसले लोड बोकेका सवारीलाई काठमाडौंसम्म आउन लाग्ने समयावधि पनि घटाउने छ ।

साथै राजमार्ग छेउमै रहेर पनि त्रिशुली नदीका कारण विकट बनेका धादिङ र गोरखाका क्षेत्रहरुको पनि विकासमा महत्वपूर्ण सहयोग पुग्ने छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्