सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कांग्रेस पार्टी भंग गरिदिए हुन्छ, पार्टी चल्दैनः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पुरानै अवस्थामा फर्काएर मात्र विश्राम लिने बताएका छन् । साथै भोट नहाल्नेहरुको क्रियाशील सदस्यता खारेज गर्ने र अन्तरघातीहरुलाई कारबाही गर्ने उनले बताएका छन ।

कैलाली जिल्ला अधिवेशनको उद्घाटन गर्दै देउवाले अन्तरघातकै कारण कांग्रेसले २५ देखि ३० सिट गुमाएको दाबी गरेका छन । हारको मुख्य कारण अन्तरघात भएको भन्दै उनले अन्तरघातीलाई कारबाही गरिछाड्ने बताएका छन ।

उनले भने–‘यो देशमा अब मेरो एउटै काम छ, अन्तरघातीलाई कारबाही गरेर पार्टीलाई पुरानै अवस्थामा ल्याएर मात्र म विश्राम लिन्छु ।’ कृष्णप्रसाद भटटराईको पालादेखि सुरु भएको अन्तरघात सदासदाका लगि अन्त्य गर्ने उनको दाबी छ ।

टिकट नपाउनासाथ पार्टीका उम्मेदवारलाई हराउन लाग्ने हो भने पार्टी अघि बढ्न नसक्ने उनको धारणा छ । सम्बोधनका क्रममा उनले भनेका छन–‘अनुशासनहीन काम गरेर पार्टीलाई नै हराउनेलाई कुनै हालतमा माफ गर्न सकिँदैन । यो अपराध हो । यस्ता अपराधीलाई कारबाही गर्छु ।’

सभापती उेउवाले भनेका छन–‘अन्याय भएको छ भने लड्ने आफ्नो ठाउँ छ । पार्टीलाई नै हराएर को बहादुर भएको छ ?’ कांग्रेस सभापति देउवाले अन्तरघातीलाई कारबाही नगर्ने हो भने पार्टी नै भंग गरिदिए हुने टिप्पणी समेत गरेका छन । उनले भने–‘‘होइन भने पार्टी भंग गरिदिए हुन्छ । पार्टी चल्दैन ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्