सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बलात्कारीलाई जन्मकैद, बालिकाको शव उठाउने तयारी

वि.स. २०७३ साल जेठ ५ गते काठमाण्डौको स्वयंभुमा १२ वर्षकी बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले विश्वराम रनपहेँलीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।

अदालतको यो फैसलाले न्यायको लागि संघर्षरत बालिकाकी आमा सन्तोषी नेपालीले केही राहतको सास फेरेकी छन् । स्वयम्भूमा डेरा गरी बस्ने सन्तोषीकी छोरी अमृताको ०७३ जेठ ५ गते बलात्कारपछि हत्या भएको थियो ।

काठमाडौं जिल्ला अदालतले सोमबार मोरङ, बाहुनीका विश्वराम रनपहेँलीलाई बलात्कार र हत्या दुबैमा दोषी ठहर गरेको हो । न्यायाधीश राजेन्द्र नेपालको इजलासले जबरजस्ती करणी र हत्यामा दोषी ठहर गरी सर्वस्वसहित जन्मकैदको सजायँ सुनाएको हो ।

त्यस्तै पीडित परिवारलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ । पीडितको पक्षबाट अधिवक्ताद्वय टिकाप्रसाद शर्मा कँडेल र स्वागत नेपालले बहस गरेका थिए ।

आफ्नी छोरीको हत्यारालाई कारबाही हुँदा सन्तोषीले राहत महशुष त गरेकी छिन तर, पैसा नहुँदा १३ महिनादेखि शिक्षण अस्पतालमा रहेको छोरीको शव उठाएर अन्तिम संस्कार गर्न समेत पाएकी छैनन् । अस्पतालमा तिर्नुपर्ने रकम जुटाउन सके छोरीको अन्त्येष्टि गर्ने उनको योजना छ ।

बलत्कारीले सजाय पाएपछी शब उठाउने तयारी
बलत्कार पछी हत्या गरीएकी अमृताकी आमा सन्तोषी नेपाली ज्याला मजदुरी गर्छिन् । अरु दिन जस्तै २०७३ साल जेठ ५ मा छोरा र छोरीलाई कोठामा छाडेर उनी काममा गएकी थिइन् । त्यो दिन स्कुलमा अतिरिक्त क्रियाकलापका लागि चाहिने पोषाक नभएका कारण अमृता स्कुल गएकी थिइनन् ।

अमृताका भाइ स्कुलबाट फर्किदा दिदिलाई कोठामा अचेत अवस्थामा देखेपछि आमालाई बोलाउन पुगेका थिए । सन्तोषीका अनुसार उनी कोठामा आउँदा छोरीलाई हातखुट्टा खुम्चिएको र झ्यालमा सलको पासो अड्किएको अवस्थामा भेटेकी थिइन् ।

प्रहरी आएर मुचुल्का र पोष्टमार्टम गर्ने क्रममा बालिकाको यौनांगमा चोट र घाँटीमा समेत चिथोरिएको देखियो । उनले विगतदेखि नै शंकास्पद गतिविधि गरेका छिमेकी विश्वरामविरुद्ध किटानी जाहेरी दिएकी थिइन् तर, सुरुमा प्रहरीले जाहेरी नै लिन मानेको थिएन ।

त्यसपछि सन्तोषीले छोरीको हत्यारालाई सजाय नदिलाएसम्म छोरीको शव नै नउठाउने अठोट लिइन् । सोमबार अदालतले विश्वरामलाई दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएपछि सन्तोषीले न्याय पाएको प्रतिक्रिया दिएकी छिन ।

सन्तोषीले न्यायको महशुष त गरिन तर अस्पतालमा तिर्नुपर्ने रकमको अभावका कारण छोरीको अन्त्येष्टि कसरी गर्ने भन्ने चिन्ताले उनलाई सताउन थालेको छ ।

उनले भनिन–‘न्याय त पाएँ । तर, हस्पिटलले महिनाको १५ हजार लाग्ने भनेको थियो । त्यो पैसा चाहिँ कसरी ल्याउने भन्ने चिन्ताले सताउन थालेको छ । भोलि हस्पिटल त जान्छु । कति तिर्नुपर्छ भन्छ । त्यही अनुसार केही गर्नु पर्ला ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्