सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

संयुक्त सैन्य तालिम गर्दै नेपाल र चिनियाँ आर्मी

नेपाली सेना र चिनियाँ जनमुक्ति सेना बिचको ‘सगरमाथा फ्रेन्डसिप’ नामक संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण असोज १ देखि १२ गतेसम्म चीनको छेन्दूमा हुने भएको छ । नेपाल र चिनियाँ सेनाबिचको संयुक्त सैन्य अभ्यासको पहिलो संस्करण गत वर्ष नेपालमा भएको थियो ।

संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा १६ जना सैनिक अधिकारीको सहभागिता हुने बताइएको छ । गत वर्ष वैशाखमा भएको संयुक्त सैन्य अभ्यास यसपटक सरकार गठन र त्यसपछि लगत्तै भएको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका कारण केही ढिलाइ भएको थियो ।

प्रधानमन्त्री ओलीको भ्रमणपछि संयुक्त सैन्य अभ्यास गर्नेमा दुवै मुलुकका रक्षा मन्त्रालय सहमत भएका थिए । प्रधानमन्त्री ओली र त्यस लगत्तै प्रधानसेनापति राजेन्द्र क्षत्रीको चीन भ्रमणले संयुक्त सैन्य अभ्यासको टुंगो लगाएको हो ।

प्रधानसेनापति क्षत्री चीन भ्रमणमा गएका बेला त्यहाँका रक्षामन्त्री र सेना प्रमुखसँग समेत संयुक्त सैन्य अभ्यास लगायत द्विपक्षीय हितका विषयमा छलफल गरेका थिए । संयुक्त सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला, विपद व्यवस्थापन लगायतमा केन्द्रित हुने छ ।

नेपाली सेनाले अमेरिकी सेनासँग समेत संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । नेपाली र भारतीय सेनाबीच पनि प्रत्येक वर्ष सैन्य अभ्यास हुँदै आइरहेको छ । नेपाली र भारतीय सैनिकको संयुक्त सैन्य अभ्यास ‘एक्सरसाइज सूर्यकिरण’को १२ औं संस्करण अघिल्लो वर्ष भदौमा रूपन्देहीको सालझण्डीस्थित सेनाको ब्याटल स्कुलमा भएको थियो ।

सेनाले पछिल्लो समय द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम र अभ्यासका माध्यमबाट सैन्य कूटनीति सुदृढ र मजबुत पार्दै आएको छ । नेपाल र चिनियाँ जनमुक्ति सेनाबीच गत वर्ष भएको संयुक्त सैन्य अभ्यासबारे जापान, कोरिया, भारत, अमेरिका र विभिन्न युरोपेली मुलुकले असहजता प्रकट गरे पनि नेपाली सेनाले चीनसँगको संयुक्त सैन्य अभ्यास नियमित र सामान्य भएको बताएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्