सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतीय फिल्ड अफिस साउन १६ देखी बन्द हुँदै

भारतले विराटनगरस्थित फिल्ड अफिस साउन १६ देखि बन्द गर्ने घोषणा गरेको छ । जेठ ७ मै फिल्ड अफिस हटाउन तयार रहेको औपचारिक घोषणा गरे पनि भारतले ढिला गरी बन्द गर्न लागेको हो ।

मंगलबार भारतीय दूतावासले सूचना जारी गरी फिल्ड अफिसबाट हुँदै आएका सम्पूर्ण कामकाज १६ साउनदेखि काठमाडौंस्थित दूतावासबाटै सञ्चालन गर्ने जनाएको छ ।

दूतावासका प्रवक्ता रोशन लेप्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘मोटर–गाडीहरूको अनुमति, भारतीय नागरिकका लागि प्रमाणपत्र दर्ता, दस्तावेजको प्रमाणीकरण अब काठमाडौंस्थित दूतावासबाट हुनेछ ।’

वैशाख २८ मा आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि भारतले विरानगरको फिल्ड अफिसको औचित्य सकिएको भन्दै हटाउने प्रतिबद्धता जनाएको थियो ।

त्यसअघि २३ चैत ०७४ मा भारत भ्रमणमा जाँदा प्रधानमन्त्री केपी ओलीले समकक्षी मोदीसँग ‘वान टु वान’ वार्तामा विराटनगर फिल्ड अफिस हटाउनुपर्ने कुरा उठाएका थिए ।

२६ जेठमा प्रधानमन्त्री केपी ओलीले १ नम्बर प्रदेश सभालाई सम्बोधन गर्दै भारतीय फिल्ड अफिस हट्ने घोषणा नै गरेका थिए । तर, लामो समयसम्म नहट्दा घोषणा कार्यान्वयन नभएको भन्दै आलोचना सुरु भएको थियो । विराटनगर महानगरपालिका–१२ स्थित थापा निवास टोलमा १० वर्षदेखि सो फिल्ड अफिस सञ्चालनमा छ ।

वि.स. २०६५ भदौ २ गते आएको कोसीको बाढीले समस्या निम्त्याएपछि व्यापारिक समस्या सहजीकरण गर्न फिल्ड अफिस स्थापना भएको थियो । पूर्वका उद्योगी व्यापारीकै आग्रहमा विराटनगरमा भारतीय दूतावासको फिल्ड कार्यालय स्थापना गरिएको थियो ।

सुरुमा विराटनगरको वरगाछीमा स्थापना गरिएको कार्यालय सहमतिअनुसार सन् २०१० मै हट्नुपर्ने थियो । तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय दूतावासलाई २०११ मा पत्र नै लेखेर कार्यालय हटाउन भने पनि भारतले अटेर गर्दै झन् वरगाछीबाट सुविधासम्पन्न ठाउँमा सारेर कार्यालय सञ्चालन गर्दै आएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्