सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सहकारीको तीजको दर खाँदा ४ सय जना बिरामी

काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १२ काँसकोटमा तीजको दर खाँदा चार सय जना बिरामी भएका छन । विरामी हुनेमा प्रदेश संसाद गोमा भुर्तेल समेत छिन् । दरको खानाकै कारण बिरामी भएको भए पनि ठ्याक्कै कारण भने खुलिसकेको छैन ।

शुक्रबार दिउँसो कासकोटस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरु बिरामी परेको काभ्रे प्रहरीले जानकारी दिएको छ ।

दर खाने कार्यक्रममा गाउँभरिका करिब ६/७ सय जना सहभागी थिए । दर खाएर बिरामी भएकाहरु सबैको पेट दुख्ने, वाकवाक हुने, पखाला हुने, टाउको दुख्ने समस्या देखिएको छ ।

प्रदेश सांसद गोमा भुर्तेलले भनिन्–‘मेरो घरको तीन जना विरामी भएपछि अरुलाई पनि केही भयो कि भनेर सहकारीका अध्यक्ष भैरव सेडाईलाई फोन गरेँ । उहाँको हविगत पनि उहि रहेछ ।’

काभ्रे प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार १३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये धुलिखेल अस्पतालमा ८६ जनाको उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको डा. अनमोल श्रेष्ठले जानकारी दिएका छन ।

५६ जनाको शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये दुई जनाको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका डा. एञ्जला बस्नेतले बताएका छन ।

बिरामीमध्ये केहीलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र, पोलिक्निक र केहीलाई काठमाडौंमा उपचारको लागि लगिएको छ । बाँकी उपचार गरी घर फर्किसकेका छन् ।

विरामी हुनेमा बढी बालबालिका र महिला छन् । बिरामी भएकाहरूको संख्या बढ्दै गएको र उपचार लागि आवश्यक प्रक्रिया थालनी गरेसँगै स्वास्थ्य विभाग लगायतका टोलीले घटनास्थलको अवलोकन गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताएका छन ।

उनका अनुसार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका टोलीले बिरामीले खाएका खाना तथा पानीको नमूना सङ्कलन गरी प्रयोगशालामा लगेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्