सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

भारतीय प्लेनमा एयर मार्सलको बृद्धी, बेखबर नेपाल

भारतीय सुरक्षा एजेन्सी र हवाई सेवासम्बन्धि निकायलाई बिमान अपहरण हुनसक्ने गोप्य सुचना आएको भन्दै भारतले काठमाडौं आउने भारतीय विमानहरुमा विशेष सुरक्षा दस्ता (एयर मार्सल) को संख्या बृद्धि गरेको छ ।

भारतको वायुसेवा सुरक्षाका उच्च अधिकारीहरुलाई उद्धत गर्दै आइतबार प्रकाशित भारतीय अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्सले यो समाचार छापेको छ । उक्त पत्रिकाले इन्टेलिजेन्स एजेन्सीले काठमाडौं र काबुल उडानका भारतीय विमान अपहरण हुने सूचना प्राप्त गरेको आधारमा एयर मार्सलको संख्यामा बृद्धि गरिएको जनाएको छ ।

विमान अपहरण हुनसक्ने सुचना कहिले प्राप्त भयो भन्ने बिषयमा भने ती अधिकारीले केही खुलाएका छैनन् । तर, एयर मार्सलको संख्यामा गरिएको बृद्धिका बारेमा काठमाडौंस्थित सरकारी अधिकारीहरु भने अनभिज्ञ देखिएका छन ।

एयर मार्सलको संख्यामा बृद्धि गर्दा गृह मन्त्रालयको पूर्व स्वीकृति लिएर त्यसको जानकारी सम्बन्धित निकायलाई दिनुपर्ने हुन्छ । तर, संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका सहसचिव सुरेश आचार्यले एयर मार्सलको संख्या बढाइएको बारे थाहा नभएको बताएका छन ।

सन् १९९९ मा दिल्लीबाट काठमाडौं जाँदै गरेको एयर इण्डियाको विमान अपहरणमा परेपछि भारतले आफ्ना विमान कम्पनीहरुमा नेसनल सेक्युरिटी गार्डका कमाण्डोहरुलाई सादा पोशाकमा खटाउँदै आएको छ । नेपाल सरकारले एयर मार्सल राख्न अनुमति दिएदेखि नै यो विषय विवादित रहँदै आएको छ ।

एयर मार्सलका सम्बन्धमा अन्तराष्ट्रिय हवाई संगठन (आइकाओ) को प्रष्ट निर्देशिका नभए पनि सम्बन्धित मुलुकहरुले आपसी सहमतिमा एयर मार्सल खटाउने गरेका छन् । सुरक्षा जोखिमलाई हेरेर भारतले आफ्ना विमानहरुमा दुई देखि छ जनासम्म एयर मार्सल तैनाथ गर्दै आएको छ ।

‘सुरक्षा जोखिमलाई ध्यानमा राख्दै अन्तराष्ट्रिय रुट र सम्वेदनशील क्षेत्रमा मार्सल खटाइने गरिएको छ,’ पत्रिकाले सरकारी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, ‘ती एयर मार्सलहरुले बन्दुक र पेस्तोल हतियारसमेत बोक्छन् ।’ उडानमा एयर मार्सलहरुको पहिचान भने अत्यन्त गोप्य राखिन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS