सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यस्तो छ, निर्मला हत्याकाण्डमा साईकलको रहश्य

प्रहरीका अनुसार १० साउनमा नै घाँस–दाउरा गर्न गएकी स्थानीय महिला धना भण्डारीले दिउँसो ४ बजेतिर निर्मलाको साइकल देखेकी थिइन् । धनाका अनुसार देउरानी जमुनासँगै उनी घाँस–दाउराका लागि त्यो क्षेत्रमा गएकी थिइन् ।

उनकी देउरानीका ६ वर्षे छोरा सन्दीप पनि पछि लागेर गएका थिए । करिब ४ देखि साढे ४ बजेतिर सन्दीपले घटनास्थल नजिकैको नहरमा साइकल देखेको बताएका थिए । त्यसपछि आमा जमुनाले होमवर्क गर्न छाडेर आफूहरूको पछि लागेको भन्दै छोरालाई हप्काइन् ।

धनाले नहरतिर हेरिन् । ‘साइकल पानीमा डुबेको अवस्थामा थियो, त्यसैले रङ त थाहा भएन । एकापट्टिको हेन्डिलको कालो भाग र आधा डुबेको सिटको कालो भागसम्म देखेकी हुँ । कसैले थोत्रो भएर फालेको होला भनेर वास्ता गरिनँ,’ उनले भनिन् ।

भोलिपल्ट निर्मला हराएको खबर सुनेर उनीहरू त्यस स्थानमा पुग्दा एकजना पाका उमेरका मानिस साइकल बाहिर निकालेर पुछ्दै थिए । ती हुन्, साधुराम चौधरी, जो एक स्थानीयको घरमा कामदार छन् ।

चौधरीका अनुसार उनले पहिलोपल्ट साइकल देख्दा पछाडिको पांग्रा माथिपट्टि उठेको थियो । साधुराम चौधरीले भने–‘मैले साइकल तानेर बाहिर ल्याएँ । साइकलको एउटा ह्यान्डलमा एउटा चप्पल सिउरिएको थियो ।,

यस घटनामा तत्कालीन एसपी डिल्लीराज विष्टको भूमिकालाई लिएर पीडित परिवार र स्थानीयले सुरुदेखि नै शंका गर्दै आएका छन् । तर, नयाँ छानबिन टोलीले पनि विष्ट, घटनास्थल पुग्ने र अनुसन्धानमा संलग्न प्रहरी अधिकृत तथा कर्मचारीमाथि उचित छानबिन गरेको देखिँदैन ।

निर्मलाको सुरुवाल पखालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि पीडित परिवार र स्थानीयको आक्रोश चुलिएको छ । तर, सुरुवाल पखाल्ने प्रहरी जवान चाँदनी सावदले मानिसको भिड बढ्दै गएपछि आफूले सुरुवालले निर्मलाको यौनांग छोपिदिएको बताइन् ।

‘कसैले अह्राएको होइन । तर, मानिसहरूको भिड बढ्दै गएपछि मैले सुरुवालले निर्मलाको गुतांग छोपिदिएकी हुँ । मलाई त्यसवेला केही हेक्कै भएन, सुरुवाल पखालेको पनि पछि भिडियो हेरेर थाहा पाएँ । मलाई कसैले त्यसो नगर भनेर पनि रोकेन ।’

राष्ट्रिय मानवअधिकार आयोगले पनि प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गर्नेदेखि प्रभावकारी अनुसन्धान गर्ने लगायत कार्यमा सुरुदेखि नै गम्भीर त्रुटि गरेको औँल्याएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्