सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जेलबाट निस्कँदै छविलालले भने–‘पिडितले न्याय पाउन्’

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डमा जिल्ला अदालत, चितवनबाट सफाइ पाएका छविलाल पौडेल कारागारबाट रिहा भएका छन् । चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला गरेसँगै पौडेल सोमबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोप खेपेका अधिकारीलाई गत असार २५ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि जेल चलान गरिएको थियो । त्यसको करिब २ महिनापछि पौडेलसहित १२ ले सफाइ पाएका हुन् । मुद्दा खेपेका १२ मध्ये छविलाल जेल परे पनि अन्य भने पक्राउ परेका थिएनन् ।

डिल्लीबजार कारागारले चितवन जिल्ला अदालतले सफाइ दिएसँगै पौडेल सोमबार बिहान रिहा भएको जानकारी दिएको छ । रिहापछि छविलालले भनेका छन–‘बुझ्नेले कुरा नबुझेपछि, मनमा पीर त पर्ने नै भयो’

रिहा भएका पौडेललाई स्वागत गर्न उनका समर्थक बाजागाजासहित डिल्लीबजार कारागार पुगेका थिए । समर्थकले पञ्चेबाजासहित केहीबेर र्यालीसमेत निकालेका थिए ।

यसअघि नेकपाका अध्यक्ष प्रचण्ड स्वयं पौडेलको स्वागतका लागि जाने भनिए पनि उनी भने गएका थिएनन । रिहाइपछि पौडेलले पीडित परिवारले नबुझेर आफूविरुद्ध उजुरी दिएको प्रतिक्रिया दिए । ‘उहाँहरुले तथ्य नबुझिकनै मविरुद्ध उजुरी दिनुभएको हो’, रिहाइपछि पौडेलले भने, ‘उहाँहरुलाई पछुतो नहोस् ।’

कृष्णप्रसाद आफ्नो विद्यार्थी भएको उल्लेख गर्दै पौडेलले घटनापछि आफू निकै दुःखी भएको स्मरण गरे । उनले आफूलाई नराम्रो भए पनि आरोप लगाउनेहरुप्रति सदीक्षा व्यक्त गरेका छन । उनले भने–‘उहाँहरुलाई राम्रो होस, हामीलाई जे–जे भए पनि ।’

उनले अन्यायमा परेकाले न्याय पाउने विश्वास व्यक्त गर्दै सबैको साथ र सहयोगको अपेक्षासमेत व्यक्त गरेका छन । फरार एक आरोपीबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले केही जानकारी नभएको प्रतिक्रिया दिएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्