इन्काउन्टरमा मारिएका चरिकी प्रेमिका खुश्बुलाई अवार्ड
प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात गुण्डानाईके दिनेश अधिकारी ‘चरी’की प्रेमिकाका रुपमा चर्चा कमाएकी खुश्बु ओलीले एएफसी ड्रिम अवार्ड पाएकी छिन । एशियन फुटबल फेडेरेशन (एएफसी)ले सेल्टर नेपालकी अध्यक्ष रहेकी खुस्बु ओलीलाई एएफसी ड्रिम अवार्ड–२०१८ प्रदान गरेको हो ।
बुधबार मलेशियाको क्वालालम्पुरमा एएफसीको सामाजिक उत्तरदायित्व अन्तर्गतको सम्मेलनमा खुस्बुलाई एएफसी ड्रिम अवार्ड प्रदान गरिएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।
एएफसीले प्रत्येक वर्ष तीन विधाअन्तर्गत कर्पोरेट, नन–गभर्नमेन्ट अर्गनाइजेशन र व्यक्तिगततर्फ यो अवार्ड प्रदान गर्दै आइरहेको छ । खुस्बुलाई भने एएफसीले व्यक्तिगत विधाअन्तर्गत अवार्ड प्रदान गरेको हो ।
यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि खुस्बुलाई उक्त अवार्डका लागि एएफसीसमक्ष सिफारिश गरेको थियो । सडक बालबालिकाका लागि आश्रय दिँदै आएकी खुस्बुलाई एएफसीको सोसियल रेस्पोन्सिबिलिटी कमिटीका अध्यक्ष अहमद इद एल हर्बीले अवार्ड प्रदान गरेका थिए ।
खुस्बुलाई अवार्डसँगै १० हजार अमेरिकी डलरसमेत प्रदान गरिएको थियो । खुस्बुले युनाइटेड नेसन्स सस्टेनेबल गोलअन्तर्गत रहेर पछिल्लो समय नेपालको पूर्वी क्षेत्रमा पाँच नमूना गाउँ निर्माण गरिसकेकी छन् ।
अवार्डपछि खुस्बुले गरीब समुदायमा व्यक्तिगत दक्षतामा विकास गरी समग्र गाउँको सशक्तिकरणका लागि आफूलाई थप उत्प्रेरणा मिलेका बताएकी छिन् । अध्यक्ष खुस्बुले एक हजार सडक बालबालिकालाई फुटबलको माध्यमबाट विभिन्न कार्यक्रमसमेत सञ्चालन गरेकी थिइन् ।
केही समय अगाडि मात्र सेल्टरको व्यवस्थापनमा सडक बालबालिकाको राष्ट्रिय फुटबल टोली तयार गरी रुस विश्वकपको दौरान स्ट्रिट चाइल्ड वल्र्डकपमा समेत सहभागी गराइएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्