सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पोखरामा ७० बर्षिया बृद्धा बलात्कृत, बलत्कारी फरार

एकपछी अर्को वलात्कारका घटना सेलाउन नपाउँदै पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत भएको उनका आफन्तले दावी गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोककी वृद्धा बलात्कृत भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

राम्रोसँग आँखासमेत देख्न नसक्ने वृद्धालाई छिमेकी ४५ वर्षीय रेवतीरमण पाण्डेले बलात्कार गरेको पीडितको आरोप छ । रक्सीले मातेका पाण्डेले बुधबार दिउँसो १ः४५ बजे बलात्कार गरेको बताइएको छ । श्रीमती माइत गएका बेला पाण्डेले बृद्धालाई घरकै कोठामा थुनेर जबरजस्ती गरेको स्थानीयको भनाई छ ।

एउटै घरको फरक कोठामा बस्ने पाण्डेले वृद्धाको छोरा सामान किन्न बेगनासताल चोक गएका बेला ढोका थुनेर बलात्कार गर्न थालेको भन्दै स्थानीय एक युवकले वृद्धाको छोरालाई खबर गरेका थिए । उनको छोरा आउन्जेलसम्म पाण्डे र वृद्धा कोठाभित्रै थिए । भित्रबाट चुकुल लगाइएको थियो ।

ति वृद्धाको छोरोले ढोका खोलेर पाण्डेलाई कुट्न थालेपछि पाण्डे उम्केर साइकल लिएर भागेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । पीडित महिला र उनको परिवारले पाण्डेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रहरीले यसबारे अनुसन्धान अघि बढाएको छ ।

बुढ्यौलीले बोलीसमेत प्रष्ट नबुझिने वृद्धाले बलात्कार–बलात्कार मात्र भन्ने गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन्द्रमान गुरुङले बताएका छन । बृद्ध महिलामाथी बलात्कार भएको हो या बलात्कार प्रयास मात्र भएको हो त्यो भने अनुसन्धान हुन बाँकी नै रहेको गुरुङले बताएका छन ।

पाण्डे अझै प्रहरीको सम्पर्कमा आइसकेका छैनन् । किटानी जाहेरीपछि प्रहरीले बलात्कार गर्ने व्यक्तिको खोजी गरिरहे पनि पक्राउ गर्न सकेको छैन । यद्यपि पाण्डेका आफन्तले भने बलात्कारको अनावश्यक आरोप मात्र लगाइएको दाबी गरेको छ ।

उनीहरुले पाण्डेलाई उपस्थित गराउने बताएको प्रहरी स्रोतले बताएको छ । बृद्धाको बलात्कार भए नभएको स्वास्थ्य परिक्षण रिपोर्ट आएपछी थाहा हुने प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्