सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सुत्केरीलाई १ बर्ष बिदा, आमाको नाममा प्रमाणपत्र

सुत्केरी महिलाले एक वर्षसम्म बेतलबी बिदा पाउने भएका छन् । संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि प्रसूति बिदा अपुग भए चिकित्सकको सिफारिसमा बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था गरेको हो ।

समितिले सरकारले ल्याएको विधेयक परिमार्जनसहित सर्वसम्मतिबाट अनुमोदन गरी बिहीबारको संसद् बैठकमा प्रतिवेदन पेस गरेको छ । सुत्केरी हुनुअघि वा पछि कम्तीमा अन्ठानब्बे दिनसम्मको तलबसहितको प्रसूति बिदा पाउने अधिकारसमेत विधेयकमा छ ।

विधेयकमा गर्भवती महिलाले बिदा अपुग भए स्वास्थ्यकर्मीको परामर्शमा थप एक महिना तलबसहितको बिदा पाउने भनिएकोमा समितिले एक वर्ष बेतलबी बिदाको व्यवस्था थप गरेको हो । यो सुविधा सरकारी, गैरसरकारी वा निजी संघसंस्थामा कार्यरत महिलाले पाउनेछन् ।

त्यस्तै विधेयकमा २८ साताभन्दा बढीको गर्भपतन गराउन नपाउने प्रावधान समितिले थप गरेको छ । सरकारले भने १८ साता र जुनसुकै अवधिको गर्भ पनि गर्भपतन गराउन सकिने व्यवस्था प्रस्ताव गरेको थियो ।

स्वास्थ्य संस्थाले आमा वा बुबाको मात्रै नाम राखेर शिशु जन्मेको प्रमाणपत्र दिनुपर्ने हुुन्छ । सरकारले पेस गरेको विधेयकमा बाबुको पहिचान हुन नसकेको वा बाबुको नाम उल्लेख गर्न नचाहेको हकमा व्यहोरा खुलाउनुपर्ने प्रावधान थियो । समितिले यो प्रावधान हटाएर आमाको नाममा मात्रै पनि प्रमाणपत्र दिन सकिने व्यवस्था गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्