सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

निर्मला हत्याकाण्डको प्रारम्भिक प्रतिवेदनले हलचल

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या सम्बन्धि घटनाको अनुसन्धानमा लापरबाही गर्ने थप ५ प्रहरी निलम्बनमा परेका छन् । सिआइबीका डिएसपी अंगुर जिसीसहित थप प्रहरीलाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको हो ।

सहसचिव हरिप्रसाद मैनाली संयोजकत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा जिसीसहित डिएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्का र जगदिश भट्ट तथा असई रामसिंह धामीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

पन्तको हत्यामा नक्कली अभियुक्त खडा गरेको पुष्टि भएपछि उनीहरुलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको हो । एसपी डिल्लीराज बिष्ट तीन साताअघि नै निलम्बनमा परिसकेका छन् ।

प्रतिवेदनमा बालिकाको हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारीपूर्जक गर्न नसकेका सुरक्षाकर्मीलाई नै अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको छ । प्रतिवेदनले केही औल्याएका संदिग्ध व्यक्तिहरुलाई छानविनको दायरामा ल्याई अनुसन्धान अगाडि निर्देशन दिएको छ ।

समितिको यो प्रतिवेदनसँगै संदिग्ध अपराधी भनिएका भिआईपीमा हलचल मच्चिएको छ । घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान भइरहेको भन्दै गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘यस आपराधिक घटनामा जो कोही संलग्न भएपनि कानुनी दायरामा ल्याई कारबाही गर्न मन्त्रालय प्रतिवद्ध छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्