निर्मला हत्याकाण्डमा नयाँ मोड, प्रहरीमाथी नै छानबिन
बलत्कार पछी हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा उच्च तहबाट छानविन गर्ने भन्दै प्रहरी प्रधान कार्यालयले डिआईजी धिरु बस्न्यात नेतृत्वको नयाँ कमिटी गठन गरेको छ ।
डिआईजी नेतृत्वको समितिमा एसएसपी निरजबहादुर शाही, डिएसपीहरु रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकी सहित ९ जना सदस्य रहेका छन् । यसअघि गठन भएको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) उत्तम सुवेदीको नेतृत्वमा गठित कमिटीलाई पुनर्संरचना गर्दै प्रहरी हेड्क्वार्टरले डिआईजी बस्न्यातलाई आन्तरिक अनुसन्धान गर्ने जिम्मा दिएको छ ।
प्रहरी प्रवक्ता शैलेश थापाले भने–‘यसअघि उत्तम सुवेदीको कमाण्डमा गठन भएको समितिलाई पुनर्संरचना गरिएको हो । डिआईजी धिरु बस्न्यात सापको नेतृत्वमा गठन भएको समितिलाई कञ्चनपुर घट्नाको अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीबारे छानविन गर्ने कार्यादेश दिइएको छ ।’
निर्मला पन्तको हत्या भएको घट्ना स्थलमा प्रहरी बरिष्ठ उपरिक्षक ठाकुर ज्ञवालीको नेतृत्वको अनुसन्धान टोली पठाएर नयाँ शिराबाट अनुसन्धान शुरु गरेको प्रहरी प्रधान कार्यालयले केही दिनअघि मात्रै एसएसपी उत्तम सुवेदीको नेतृत्वमा दोस्रो समिति गठन गरेको थियो ।
उत्तम सुवेदीको नेतृत्वमा गठित समितिलाई उच्चस्तरीय बनाउँदै गठन भएको बस्न्यात नेतृत्वको कमिटीले निर्मला हत्याकाण्डको अनुसन्धानमा संलग्न सिआईबी लगायतको निकायबाट खटिएका अनुसन्धानकर्ताहरुको भूमिकाबारे छानविन गर्ने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
प्रहरी प्रवक्ता क्षेत्रीले अगाडी भनेका छन–‘कञ्चनपुर घट्नामा प्रहरीको भूमिकाको सम्बन्धमा विस्तृत छानविन र प्राविधिक अनुसन्धान गर्नका लागि यो कमिटी बनेको हो । गृह मन्त्रालयबाट निलम्बित ६ जनासहित कञ्चनपुर घट्नाको अनुसन्धानमा संलग्न सबै तहका प्रहरी कर्मचारीले खेलेको भूमिकाबारे अनुसन्धान हुन्छ ।’
बस्न्यात नेतृत्वको कमिटीले केन्द्रीय अनुसन्धान ब्यूरोबाट त्यतिबेला अनुसन्धानका लागि कञ्चनपुर गएको डिएसपी अंगुर जिसी, तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट र अनुसन्धानमा संलग्न अन्य प्रहरी कर्मचारीको भूमिकाबारे छानविन गर्ने बताइएको छ ।
कञ्चनपुरका तत्कालिन एसपी विष्ट र केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले घट्ना भएको २४ दिनपछि अभियुक्त सार्वजनिक गरेका थिए । ब्यूरोको टोलीले अनुसन्धानपछि सार्वजनिक गरेका ४९ वर्षीय दिलिपसिंह विष्ट बलात्कारमा संलग्न भएकोबारे स्थानीयले विश्वास नगरेपछि कञ्चनपुरमा जारी आन्दोलनले उग्ररुप लिएको थियो ।
अपराध अनुसन्धानमा अब्बल मानिने केन्द्रीय अनुसन्धान ब्यूरोको साख निर्मला बलात्कार प्रकरणमा खस्किएको छ । एउटै घट्नाले प्रहरी संगठनप्रति नकारात्मक छाप परेपछि प्रहरी प्रधान कार्यालयले अनुसन्धान अधिकारी माथि नै छानविन थालेको बताइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्