होला त संघियता खारेज ? संशोधन दर्ताको तयारी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेजीका लागि केही दिनभित्रै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने बताएका छन् । बुटवलमा सोमबार पत्रकार सम्मेलनमा बोल्दै उनले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न सबै तयारी सकिएको भन्दै केही दिनमा दर्ता गरिने बताएका हुन ।
संघीयतालाई राष्ट्रिय जनमोर्चाले मात्रै नभई कांग्रेस र नेकपाले पनि नचाहेका कारण ढिलो चाँडो अन्त्य हुने केसीले जिकिर गरेका थिए । केसीले केन्द्रमा थोरै अधिकार राखेर स्थानीय तहलाई धेरै अधिकार दिएर प्रदेश सरकार खारेज गर्नुपर्ने बताएका हुन ।
अहिले जनताले समेत संघीयताको आवश्यकता नरहेको महसुष गरिसकेको नेता केसीले बताएका छन । अध्यक्ष केसीले भनेका छन–‘संघीयता कर बढाएर मात्रै सफल हुन्न र जनतालाई करको भारी, कुशासनको बिगबिगी छ, सरकारको हालत यस्तो छ, अब चाँडो भन्दा चाडो संघीयता खारेजीको विकल्प छैन ।’
केही शक्तिले सरकार ढाल्ने खेल सुरु गरिसकेको भन्दै उनले संघीयता लाद्ने शक्ति केन्द्रले नेपालमा स्थायी सरकार चल्न नदिने दाबी गरेका छन । अध्यक्ष केसीले सरकार असफलताको दिशामा अघि बढिरहेको भन्दै समयमै कार्यशैली नबदले जनताले विकल्प खोज्ने चेतावनी दिएका छन ।
उनले अगाडी भनेका छन–‘बलात्कारका घटना बढेका छन, महंगी, भ्रष्टाचार, हिंसा न्युनीकरण भएको छैन । अपराधी, तस्कर उम्काइएको छ । अब यो सरकारबाट जनताले अब के आशा गर्ने ?’
सात ओटै प्रदेशमा बहुमत रहेको सरकारलाई काम गर्न कसैले नरोकेको केसीले बताएका छन । केसीले अगाडी भने–‘काम गर्न कस्ले रोकेको छ ? सातै वटा सरकारमा त्यत्रो बहुमत छ, माफिया, तस्कर, ठेकेदारको घेरा तोड्न पनि सरकारले सकेन ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्