सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

घरझगडामा ६ महिने शिशुको एसिड खुवाई हत्या

अछामको तुर्माखाद गाउँपालिका–४ चिसिका ६ महिनाका बालक मुस्कान बयक हत्या अभियोगमा पक्राउ परेकी जानकी बयकले पारिवारिक रिसिइबीले एसिड (कोरोसिभ केमिकल) खुवाएको बताएकी छन् । बुधबार पक्राउ परेकी जानकीले प्रहरीसँगको बयानमा पारिवारिक झगडा भइरहेने गरेको जनाउँदै त्यसैको रिसिइबीमा बच्चालाई केमिकल खुवाएको बताएकी हुन् ।

जानकीले प्रहरीलाई दिएको बयानमा भनेकी छन्–‘बच्चा रुन थालेपछि पानी हो भनेर २ थोपा एसिड खुवाएकी हुँ ।’ एउटै घरमा दुई भान्सा गरेर बस्दै आएका जानकी र मृतककी आमाबीच बेलाबेलामा झगडा भइराख्ने र २९ गते पनि लेनदेनको विषयमा भनाभन भएको जानकीले प्रहरी समक्ष स्वीकार गरेकी छन् ।

मृतक बयककी आमा र हत्या अभियोगमा पक्राउ परेकी जानकी घरका जेठानी र देउरानी मात्रै होइनन् सहोदर दिदीबहिनी समेत हुन् । मृतक ६ महिने बालकका बुवा महाबीर बयकले दिदीबहिनीबीच घरमा बारम्बार झगडा भइरहेने बताएका छन ।

महाबीरले भने–‘मेरो छोरा गर्भमा हुँदा जानकीले छोरा जन्मिए ज्यूँदो नराख्ने धम्की दिएकी थिइन । मेरी श्रीमतीले उनलाई २५० रुपैयाँ तिर्नु पर्ने थियो । पैसा तिर्न अलि ढिलो भएपछि उनले भदौ २९ गते झगडा गरेकी थिइन् । त्यसैदिन अबको दुई दिनपछि तेरो देखाई दिन्छु समेत भनेकी थिइन् । नभन्दै २ गते छोरामाथि यस्तो घटना घट्यो ।’

विवाह नहुँदा माइती घरमा पनि छुट्टाछुट्टै बसेका उनीहरु जेठानी र देउरानी हुँदा समेत बोलेनन् । मृतक बालकका बुवा बयकका अनुसार उनका भाइको र पक्राउ परेकी जानकीको भागी बिहे भएको थियो । महाबीरले भने–‘मेरो भाइको र मेरो सम्बन्ध अहिले पनि उत्तिकै राम्रो छ । हामी काठ चिर्ने कामसँगै गर्छौं । मेरो छोरा जन्मिएदेखि उनी झन् बढी झगडा गर्थिन् । तेरो क्रिया मेरो छोराले गर्नु पर्नेछ भनेर जहिल्यै धम्की दिन्थिन् ।’

महाबीरका अब २ छोरी छन् भने जानकीका २ छोरा छन् । उनी अहिले १ वर्षीय छोरा सहित जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा छिन् । माइतीले भने हालसम्म कुनै छोरीको पक्षमा नबोलेको महाबीरले बताएका छन ।

प्रहरी बयानमा जानकीले एसिड खुवाएको बताए पनि बालकको अनुहार र घाँटीमा समेत एसिड छ्यापेको देखिएको छ । प्रहारीका अनुसार बालकको अनुहार र घाँटी पोलेको थियो ।

घरमा सुताइराखेको अवस्थामा मंगलबार बिहान ११ बजेतिर एसिड जस्तै ‘कोरोसिभ केमिकल’ अनुहारमा फ्याँकिएको थियो । अवस्था गम्भीर बनेका बालकको थप उपचारका लागी अस्पताल लैजाने क्रममा मंगलबार साँझ सुर्खेतमा मृत्यु भएको भएको थियो ।

घटनाबारे जानकारी पाए लगत्तै पीडितको घरमा पुगेको प्रहरी टोलीले मृतक बालकका काकी २५ वर्षीया जानकी बयकलाई बुधबार उनकै घरबाट पक्राउ गरेको थियो ।

अछामका प्रहरी प्रमुख डिएसपी जनक शाहीले भने–‘प्रारम्भिक अनुसन्धानबाट उनकै सानिमाले एसिड प्रहार गरेको पाइयो । थप अनुसन्धान अघि बढाएर कानुनी प्रक्रियामा जान्छौं ।’ हत्या अभियोगमा पक्राउ परेकी जानकीको थप बयान लिन र घटनाको थप अनुसन्धान गर्न जिल्ला अदालत अछामले बिहबार ७ दिनको म्याद थप गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्