सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भुकम्पमा मरेको भनी काजकिरिया गरेका जीवन पोखरामा

झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिएका छन् । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा काठमाण्डुमा भूकम्पमा परेर मृत्यु भएको भनी उनको काजकिरिया गरिएको थियो ।

विसं २०७२ वैशाख १२ गते काठमाण्डुको कपनमा जीवन र उनका आफन्तसहित पाँच जना एउटा कोठामा बसेर पढिरहेको समयमा भूकम्प आएपछि उनी सम्पर्कविहीन भए ।

भूकम्पछि अन्य चार जना सम्पर्कमा आए पनि उनी लामो समयसम्म सम्पर्कमा नआएपछि मृत्यु भएको हुनसक्ने ठानेर घरमा काजकिरिया गरिएको उनका ठूलोबुबा हरि बूढाले जानकारी गराए ।

पोखरामा यातायात मजदूरका रुपमा काम गरिरहेको सुराकी पाएर खोज्न आएका उनका ठूलो बुबाले भने–‘पोखरा नयाँबजारस्थित पृथ्वी माइक्रो बस काउन्टरमा देखेँ तर मलाई देख्नासाथ उनी भागे ।’

जीवन पोखरामा छ भन्ने थाहा पाएसँगै हाल नेपालगञ्जमा बस्दै आएकी जीवनकी आमा जानकीले छोरा खोजेर ल्याउन बारम्बार आग्रह गरेपछि काठमाण्डुको जोरपाटीमा खाद्यान्नको थोक बिक्रीको कारोवार बन्द गरेर पोखरा आएको उनले बताएका छन ।

उनका अनुसार छोरो हराएपछिको पिरले ४० वर्षीय आमा जानकीको रक्तचाप बढेको छ भने निन्द्रा लाग्नका लागि नियमित औषधि सेवन गर्नु परेको छ । बुबा किसन बूढा रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका छन् ।

उमेर सानो भएका कारण व्रतबन्ध नभएको र साना बालबच्चाको किरिया गर्ने विधिअनुसार जेठोेछोरा जीवनको काजकिरिया गरिएको उनले बताएका छन । फुपाजु नेत्र धामीले जीवन भागे पनि उसलाई खोजेर घर लैजाने बताएका छन ।

पोखरा माइक्रोबसमा सिटी भाइका उपनामबाट परिचित पोखरा १४ चाउथे बस्दै आएका जीवनलाई सबैको सहयोग लिएर आमा जानकीसँग पु¥याउने धामीको धोको छ ।

नेपालगञ्जमा आमासँगै बस्दै आएका भाइ र बहिनी पनि दाजु जीवन आउने प्रतिक्षामा छन् । जीवनलाई भेटेर लिएर मात्र जाने अठोटका साथ उनका ठूलोबुबा हरि बूढा यतिबेला पोखरामा भतिजाको खोजीमा भौँतारिरहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्