सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

घुसखोरी कर्मचारीले भरियो अख्तियारको हिरासत

घुुससहित रंगेहात समातिएका र बिभिन्न आर्थिक अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले अख्तियारको हिरासत भरिएको छ । पछिल्लो समय हरेक दिनजसो कर्मचारीहरू घुससहित पक्राउ परिरहेका छन् ।

कतिपय त दसैँको बिदामा अदालत बन्द भइसकेपछि पनि पक्राउ परेका छन् । आइतबार एक उपसचिव, एक इन्स्पेक्टर र एक सिपाही पक्राउ परेका छन् । अदालत घटनास्थापनादेखि नै बन्द भइसकेको छ । यसकारण पनि अख्तियारको हिरासतमा चाप बढेको हो ।

हिरासत भरिएपछि पक्राउ परेकाहरूलाई अख्तियारले प्रहरी कार्यालयका हिरासतहरूमा समेत राख्ने गरेको छ । दसैँ खर्चका नाममा घुस असुल्नेहरूसमेत पक्राउ परेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताएका छन ।

दैनिकजसो कर्मचारीहरू घुससहित पक्राउ पर्दा पनि घुस खाने प्रवृत्ति नरोकिएको उनले बताए । प्रवक्ता दंगालले भने–‘रंगेहात पक्राउको क्रम झन् बढेको छ ।’ पछिल्लो समय मालपोत कार्यालय, प्रहरी र विद्युत प्राधिकरणका कर्मचारीहरू घुससहित पक्राउ पर्ने गरेका छन् ।

यो वर्ष २० जना घुस्याहा कर्मचारीको दसैँ अख्तियारको हिरासतमा बित्ने भएको छ । पछिल्ला दिन घुससहित धेरै कर्मचारी पक्राउ परेको र मुद्दाको चापका कारण अनुसन्धान पूरा हुन नसकेपछि उनीहरूको दसैँ अख्तियारकै हिरासतमा बित्ने भएको हो । उनीहरूमाथिको अनुसन्धान दसैँपछि अघि बढ्नेछ ।

अख्तियारको हिरासतमा दसैँ मनाउनेहरूमा डिएसपीदेखि सहसचिवसम्म छन् । उच्च सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता (सहसचिव) सुरेन्द्रबहादुर थापादेखि डिएसपी श्यामकुमार राईको दसैँ अख्तियारको हिरासतमै बित्ने भएको छ ।

सहन्यायाधिवक्ता थापा पाँच लाख रुपैयाँ घुससहित असोज २४ मा पक्राउ परेका थिए । जिल्ला अदालतबाट अभियुक्तको पक्षमा फैसला भएको ठगी मुद्दा उच्च अदालतमा पुनरावेदन नगर्ने भन्दै उनले घुस लिएका थिए ।

महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी राई भने असोज २० मा एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । बालुवा कारोबार गर्ने व्यक्तिसँग उनले घुस लिएका थिए ।

काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीको पनि दसैँ हिरासतमै बित्नेछ । उनी आइतबार अख्तियारको ‘स्टिङ अप्रेसन’मा परेका हुन । एक लाख रुपैयाँ घुससहित कार्यकक्षमै उनी पक्राउ परेका थिए ।

कम्पनी रजिस्ट्रारको कार्यालयका उपसचिवद्वय धर्मराज रोकाय र गंगाधर पौडेल पनि आयोगको हिरासतमा छन् । असोज १० मा उनीहरू काठमाडौं जिल्ला अदालतबाट छुटे लगत्तै पक्राउ परेका थिए । उनीहरूले धनीलाई थाहै नदिई ७० करोड रुपैयाँ सम्पत्ति भएको कम्पनी बिक्री गर्ने गिरोहलाई सघाएका थिए ।

इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछाने पनि आयोगको हिरासतमा छन् । उनीहरूले चोर पक्राउ गर्न सहयोग गर्ने भन्दै घुस लिएका थिए ।

असोज २५ मा ४० हजार घुससहित पक्राउ परेका शिक्षा विकास तथा समन्वय इकाइ पर्साका इकाइ प्रमुख उपसचिव लालबाबु साह पनि अख्तियारकै हिरासतमा छन् । भवन निर्माणका लागि निकासा भएको रकम विद्यालयको खातामा हस्तान्तरणका लागि उनले घुस लिएका थिए ।

असोज २३ मा मालपोत कार्यालय, कास्कीका अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मा ५० हजार घुससहित पक्राउ परेका थिए । त्यस्तै, मालपोत कार्यालय झापाका ५ कर्मचारी पनि अख्तियारको हिरासतमा छन् । जग्गा किर्ते गरेर पास गर्न खोजेको आरोपमा अख्तियारले अधिकृत अग्नि घिमिरेसहित नायब सुब्बाहरू डिल्ली कोइराला, जयन्द्र खड्का, राजेन्द्र बस्नेत र रोशनकुमार गिरीलाई पक्राउ गरी हिरासतमा राखेको छ ।

असोज १९ मा यातायात व्यवस्था कार्यालय सुकेधाराका नायब सुब्बा नवराज पराजुली पाँच हजार घुससहित पक्राउ परेका थिए । उनले लाइसेन्सको परीक्षा उत्तीर्ण गराइदिने भन्दै घुस लिएका थिए ।

असोज १६ मा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका हवल्दार नुरुल होदा अन्सारी पनि थुनामै छन् । उनी ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । उनले सीमा क्षेत्रमा तस्करीका लागि सहज बनाइदिने भन्दै घुस लिएका थिए ।

असोज १४ मा नेपाल विद्युत् प्राधिकरण काठमाडौं उत्तर वितरण केन्द्र बुढानीलकण्ठका कर्मचारी कृष्णप्रसाद शर्मा २० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । उनी पनि अख्तियारको कारागारमा दशैंको पाहुना बनेर बस्ने मध्येका एक हुन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्