सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

निर्मलाका हत्यारालाई कारबाही गरे सरकार ढल्ने

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारबाही गरिए ओली सरकार ढल्ने दावी गरेका छन् । पन्तका बलात्कारी एवं हत्यारा सत्तामा रहेका दलकै संरक्षणमा रहेको उनको दावी छ ।

भक्तपुरमा भएको ३८ औं नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) लाई सोमबार सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले भने–‘निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारबाही गरिए ओली सरकार ढल्ने सम्भावना देखेको छु । त्यसैले बलात्कारी र हत्यारा सरकारकै संरक्षणमा छ ।’

अध्यक्ष बिजुक्छेले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट माओवादी जनयुद्धका सहयोगी हुनसक्ने आशंका व्यक्त गर्दै त्यही कारण निर्मला बलात्कार र हत्याका मुख्य दोषी विष्टलाई कारबाही गर्न ओली सरकारले हिम्मत नगरेको उनको भनाइ थियो ।

विजुक्छेले भने–‘एसपी विष्ट माओवादी जनयुद्धका सहयोगी हुनुपर्छ । प्रचण्डसँग सम्बन्ध भएका व्यक्ति हुनुपर्छ, अध्यक्ष बिजुक्छेले भने । त्यसैले ओली सरकार उनलाई कारबाही गर्न डराइरहेको छ ।’

उनलाई कारबाही अघि बढाउने बित्तिकै तत्कालीन माओवादी केन्द्र सरकारबाट बाहिरिने सम्भावना रहेको उनको दावी थियो । उनले भने–‘एसपी विष्टलाई कारबाही गर्ने बित्तिकै प्रचण्ड सरकारबाहिर जानेछन । अनि ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिनेछ । त्यसमा कांग्रेस र मधेसवादी दलहरुले पनि समर्थन गर्ने निश्चित छ । त्यसैले केपी ओली एसपी विष्टलाई कारबाही गर्न तयार छैनन् ।’

उनले निर्मला पन्तका साथी भनिएका बम दिदीबहिनीलाई समेत प्रचण्ड र ओलीले आडभरोषा दिँदै आएको बताएका छन । उनले भने–‘प्रचण्डको फोटो बम दिदीबहिनीसँग खिचिएको छ । यदि यो फोटो निर्मलाको बलात्कार र हत्यापछिको हो भने यसमा प्रचण्ड र ओली दोषी हुनेछन् ।’

अध्यक्ष बिजुक्छेले निर्मला बलात्कार र हत्या घटनाको सुरुदेखि नै प्रमाणहरु नष्ट गर्ने र अनुसन्धान नगर्ने एसपी विष्टदेखि सबै सुरक्षाकर्मीमाथि राजकाज मुद्दा लगाएर सर्वस्वसहित जन्मकैद गर्नुपर्ने बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्