प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा एक्कासी समस्या
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा आएको समस्याका कारण उनी अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा समेत अनुपस्थित भएका छन् ।
नेकपाका महासचिव विष्णु पौडेलले स्वास्थ्यमा समस्या आएकाले प्रधानमन्त्री ओली कार्यक्रमा सहभागि हुन नसकेको जानकारी दिएका थिए । महासचिव पौडेलका अनुसार स्वास्थ्यमा समस्या आएपछि ओली बालुवाटारमै आराम गरेर बसिरहेको बताइएको छ ।
विजयादशमी, दीपावली, नेपाल सम्वत र छठका अवसरमा नेकपाले काठमाण्डौको भृकुटीमण्डपमा आज चियापान कार्यक्रमको आयोजना गरेको हो । अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना गरिएको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका नेता–कार्यकर्ता, सांसद, कुटनीतिज्ञ, कलाकार पत्रकार लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
अतिथिहरुलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायतका शीर्ष नेताहरुले स्वागत गरेका थिए । चियापान समारोहमा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरुलाई स्वागत गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको बताएका छन् ।
उनले समृद्धि र समाजवादको नयाँ युगको तयारी गर्ने सन्दर्भमा सांस्कृतिक कार्यक्रमहरुको पनि विशेष महत्व भएको बताएका थिए । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकतापछि नेकपाको यो पहिलो चियापान कार्यक्रम हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्