सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘मान्छे मारेको हुँ’ भन्ने कबुल गराउन निर्दोषलाई यातना

प्रहरीले निर्दोष व्यक्तिलाई जबरजस्ती हत्या अभियोग स्वीकार गराउन चरम यातना दिएको अर्को घटना बाहिर आएको छ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा लापरबाही गर्नुका साथै निर्दोषलाई यातना दिएको घटनामा प्रहरी आलोचित भइरहेको छ ।

सप्तरीमा पनि यस्तै एउटा हत्याको घटनामा संलग्न भएको अभियोगमा एक युवकलाई पक्राउ गरी मरणासन्न हुनेरी कुटपिट र अमानविय यातना दिएको पीडित परिवारले दाबी गरेको छ । रिहा भए लगतै युवकलाई उपचारका लागी अस्पताल भर्ना गरिएको छ ।

राजविराजमा कात्तिक १ गते मारिएकी आशा देवको हत्या गरेको कबुल गराउन प्रहरीले राजविराज ६ का युवक बिक्की मेहतरलाई निर्घात कुटपिट गर्नुका साथै निर्मम यातना दिएको परिवारको दाबी छ ।

अनुसन्धान गर्न भन्दै २५ बर्षीय मेहतरलाई गत बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको थियो । बयानका क्रममा आफू नगरपालिकाको सरसफाई कर्मचारी भएको र हत्यामा संलग्न नभएको बताए पनि प्रहरीले कुटपिट गरेर स्वीकार गर्न बाध्य पारेको बिक्कीले हिरासतमुक्त भएपछी बताएका छन् ।

बिक्कीले भनेका छन्–‘हत्यामा संलग्न छैन भन्दा पनि मानेनन् । प्रहरीले झण्डै ज्यानै जाने गरी कुटपिट गर्यो ।’ प्रहरीले कुटपिट गरेको निलडाम अँझै उनको शरीरमा छ । उनले अगाडी भने–‘पाइपले कुट्यो, मुख र नाकमा पानी हाल्यो ।’

मृतक आशा देवको घर जिल्ला प्रहरी कार्यालयको छेउमै छ । बिक्की देवकी छिमेकी हुन् । बिक्कीसँगै प्रहरीले सुरज मेहतर र शंकर मेहतरलाई पनि नियन्त्रणमा लिएको थियो ।

बिक्कीलाई प्रहरीले शुक्रबार छोड्ने तयारी गरेको थियो । यसका लागि उनकी पत्नी चन्दादेवीलाई बोलाएर जिम्मा लगाएको कागजमा सही छाप गराएको थियो । तर, शुक्रबार हिँड्न नसकेपछि शनिबार मात्रै छाडिएको छ । उनले भने–‘शुक्रबार हिंडन नसकेकै कारण घर पठाइएन ।’

बिक्की भन्छन्–‘सुरुमा आशालाई तिमीले नै मारेको होइन ? भन्दै सई मोती रामले प्रश्न गरे । मैले अस्वीकार गर्दा पनि पटक–पटक यही प्रश्न सोधियो र प्लाष्टिकको पाइपले हिर्काए ।’

उनले अगाडी भने–‘त्यसपछि हात र खुट्टा बाँधेर पाँच मिनेटसम्म मुखमा पानी हालिराखे । सास नै रोकिएपछि बल्ल छाडे ।’ अहिले उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ ।

उता निर्दोष युवकलाई पक्राउ गरी प्रहरीले यातना दिएको भन्दै मेहतरको पुरै वस्ती आक्रोशित बनेको छ । उनीहरुले सोधपुछका नाममा बिनाकारण कुटपिट गर्ने दोषि प्रहरीमाथी कारबाही र कुटाईबाट हुने जिन्दगीभरको पिडाको क्षतिपुर्ति हुनुपर्ने माग गरेका छन् ।

शनिबार गाउँमा भेला भएका मेहतर जातिका अगुवाहरुले हत्यारा पक्राउ गर्ने नाममा निर्दोषलाई नियन्त्रणमा लिई यातना दिनुले प्रहरीको कमजोरलाई हेप्ने प्रबृत्ति भएको बताएका थिए ।

मेहतर जातिका अगुवा मनोज मेहतरले भने–‘राजविराज नगरपालिकामा सरसफाईको काम गर्दै आएका बिक्कीलाई हत्याको आरोपमा पक्राउ गरेर यातना दिनु ठीक भएन । निर्दोष मान्छेलाई जिवनभर बल्झिने कुटपिट गरी किन छाडियो ? त्यसको पिडाको क्षतिपुर्ति कसरी हुन्छ ?’

फेसबुकबाट कमेन्ट गर्नुहोस्