सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फेसबुकबाट लभ परी बिहे गरेकी श्रीमतीको हत्या

आफ्नै श्रीमतीको हत्या गरि फरार भएका अनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ । खोटाङको मौवाबोटे १ का अनिल परियारलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

गत भदौ १२ गते काठमाडौँको बसुन्धरामा रहेको स्पिड गेष्टहाउसमा श्रीमतीको हत्या गरी अनिल परियार भागेका थिए । फेसबुकबाट नै चिनजान भएपछि लक्ष्मीसँग भागेर बिहे गरेका परियारले बिहे गरे लगत्तै काठमाडौँ आएका थिए ।

अभियुक्त परियारले आफ्नै १८ वर्षीय श्रीमती लक्ष्मी परियारलाई बसुन्धरास्थित स्पिड गेष्ट हाउसको कोठा नम्बर १०१ मा गएको भदौ १२ गते हत्या गरेका थिए । भदौ १२ गते नै हत्या भएपनि लक्ष्मीको शव भने भदौ १५ गते मात्रै बरामद भएको थियो ।

अनिल र लक्ष्मी भदौ १२ गते सँगै होटलमा बस्न गएका थिए । त्यसपछि सामान्य भनाभनमा आफूले लक्ष्मीको घाँटी थिचेर हत्या गरेको पक्राउ पछि अनिलले स्वीकार गरेका छन ।

खोटाङका अनिल परियार र त्रिपुरासुन्दरी–७ धादिङकी लक्ष्मी परियारको चिनजान फेसबुकमार्फत भएको थियो । वैदेशिक रोजगारीमा रहेका अनिल र लक्ष्मीबीच फेसबुकबाटै प्रेम भएपछि गएको साउनमा अनिलले लक्ष्मीलाई भगाएर विवाह गरेका थिए ।

विवाहपछि करिब १ महिना लक्ष्मी पनि अनिलसँगै खोटाङको घरमा गएर बसेको अभियुक्तले बताएका छन् । त्यसपछि काठमाडौं फर्किएका उनीहरुबीच विवाद सुरु भएको थियो ।

होटलमा बस्न गएको समयमा विवाद भएपछि आफूले लक्ष्मीको घाँटी थिचेर हत्या गरेको अनिलले प्रहरीसामु बयान दिएका छन् । हत्यापछि लुकीछिपी बस्दै आएका अनिललाई अपराध महाशाखाको टोलीले पोखराको माछापुच्छ्रे टोलबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्