हत्या योजना बुन्दै गर्दा पक्राउ परे गौचनका हत्यारा
तत्कालिन निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या, रुपन्देहीका दुर्गा तिवारीको हत्या र गुण्डा दावा लामालाई गोली हान्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले झापा बिर्तामोड नगरपालिका–५, शनिअर्जुनका लोप्साङ भन्ने बर्ष ४० का सोम तामाङ, नागार्जुन नगरपालिका वडा नं. ४ काठमाडौंका बर्ष २६ का रोशन बूढाथोकी र उदयपुर रौताका अमरबहादुर रानालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
उनीहरुलाई लुकिछिपी बसिरहेको अवस्थामा झापाको काकडभिट्टाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी उपरीक्षक (एसएसपी) धीरज प्रताप सिंहले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
प्रहरीले पक्राउ परेका उनीहरु गुण्डा नाइके समिरमान सिंह बस्नेतका सहयोगी भएको बताएको छ । उनीहरु समिरमानकै निर्देशनमा आपराधिक काममा संलग्न रहँदै आएको प्रहरीको दाबी छ । समिरमान हाल गौचन हत्या प्रकरणमै जेलमा रहेका छन् ।
प्रहरीले अर्को हत्याको योजना बनाउँदै गर्दा तामाङ, बूढाथोकी र रानालाई पक्राउ गर्न सफल भएको बताएको छ । उनीहरुले बिर्तामोडमै बसेर व्यवसायीको हत्या योजना बनाएको प्रहरीको दाबी छ ।
प्रहरीले पक्राउ परेका तीनै जनाले गौचन हत्यामा संलग्न रहेको स्वीकार गरिसकेको भन्दै थप अनुसन्धान कार्य जारी रहेको बताएको छ । गौचन हत्याकाण्डमा रानाले मुख्य सुटरको भूमिका निर्वाह गरेका थिए भने उनले सो अघि दुई घटनामा सुटरको भूमिका निर्वाह गरेको खुल्न आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
०७३ चैत २९ गते बौद्धमा काभ्रेका गुण्डा नाइके दावा लामालाई गोली हान्ने घटनामा रानाकै संलग्नता रहेको थियो भने सोही बर्षको पुसमा रुपन्देहीका दुर्गा तिवारीको हत्या काण्डमा पनि उनी नै सुटर थिए । नेपाली सेनाको भगौडा राना त्यहाँबाट भागेपछि समिरमान बस्नेतको सहयोगी बनेर आपराधिक गतिविधिमा लागेका थिए ।
गत असोज २३ गते काठमाडौंको शान्तिनगरबाट नयाँ बानेश्वर जाने क्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनमाथि गोली प्रहार गरी हत्या भएको थियो । हत्यापछि यसअघि नै प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो ।
त्यतिबेला हत्यामा सुटरको भूमिका निभाएका भनिएका नुवाकोट पञ्चकन्या गाँउपालिका ५ का २१ बर्षका राजीव स्याङ्तानलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।
यस्तै हतियार तथा मोटरसाइकल ब्यवस्थापनको जिम्मा लिएका पर्सा, कालिकामाई गाँउपालिका १ का ३५ बर्षका शिवजी महतो, हतियार ब्यवस्थापक भारत बेतिया, ग्राम पञ्चायत चौबेटोला ७ बस्ने २४ बर्षका मुकेश कुमार पाण्डे, मोटरसाइकल ब्यवस्थापक ठोरी गाँउपालिका ५ बस्ने बर्ष १८ का सन्तोष गुरुङ, सहयोगीको भूमिका निर्वाह गरेका काठमाडौं नागार्जुन नगरपालिका ४ बस्ने बर्ष २२ का प्रकाश बुढाथोकी पक्राउ परेका थिए ।
यस्तै हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेतलाई पनि प्रहरीले पक्राउ गरिसककेको छ । उनी अहिले कारागारमा जेल सजाय भोगिरहेका छन भने अर्का आरोपी मनोज पुन इन्काउन्टरमा मारिसकेका छन् ।
लोप्साङ, अम्बर बहादुर पुन र रोशन बुढाथोकी पक्राउ परेसँगै शरद गौचन हत्यामा संलग्नमध्ये ९ जना पक्राउ परिसकेका छन् । तर यो घटनामा संलग्न बोका भन्ने गंगा लिङ्देन र अजय थापा भने अझैँ पनि फरार नै छन् ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्