सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चोरले भरियो प्रहरी हिरासत, निगरानीमा गुण्डा

महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोर र डाँका अभियोगमा पक्राउ परेका अभियुक्तले भरिएका छन् । चाडपर्वमा हुने चोरी र डकैती नियन्त्रण गर्न प्रहरीले उपत्यकाका सबै पटके चोर पक्राउ गरेपछि परिसरका हिरासत कक्ष भरिन पुगेका हुन् ।

चाडपर्वमा हुने अधिकांश चोरी पटके चोरबाट नै हुने गरेको विगतका उदाहरण भएको विश्लेषण गरेपछि सबैलाई नियन्त्रणमा लिएको परिसरको दाबी छ । नियन्त्रणपछि यस वर्षको दसैँमा छिटपुटबाहेक चोरीका घटना नभएको परिसरका एसपी अशोक सिंहले बताएका छन ।

उनले भने–‘विगतका पर्वमा चोरीका घटना धेरै हुन्थे । यसपटक त्यति भएनन् । यसका पछाडि केही कारण छन् । त्यो के भने भए जति सबै चोर प्रहरी नियन्त्रणमा रहनु हो । यसपटक हामीले चोरीसँगै डकैत घटनामा संलग्न पटकेहरूलाई पनि नियन्त्रणमा लिएका छौँ ।’

परिसरका अनुसार यसपटक पटके र नयाँसहित ७७ चोर पक्राउ गरिएको छ । त्यसमध्ये ३९ पटके हुन् । बाँकी ३८ नयाँ चोर छन् । त्यस्तै, प्रहरीले यही अवधिमा ४३ पाकेटमार पक्राउ गरेको छ । लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् । सबै गरी परिसर मातहतका हिरासत कक्षमा अहिले चोर र पाकेटमारको संख्या १ सय १४ पुगेको छ ।

पक्राउ परेका मध्ये दिनेश भनिने आरएन सेढाई चारपटकसम्म चोरी मुद्दामा पक्राउ परेका अभियुक्त हुन् । टंक लामा तीनपटक चोरी अभियोगमा पक्राउ परेका थिए । दिप्ती चौधरी, राजन लामा, गोपाल खड्का र आयुष ठकुरी दुईपटक चोरी घटनामा संलग्न अभियुक्त हुन् । बाँकी ३३ अभियुक्त कम्तीमा एकपटक चोरी र डकैत अभियोगमा पक्राउ परिसकेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका अधिकांशलाई सार्वजनिक मुद्दाअन्तर्गत म्याद थप गरी हिरासतमा राखिएको छ । चोरी र डकैत प्रमाणित हुने अभियुक्तविरुद्ध भने चोरी र डकैत मुद्दाअन्तर्गत नै म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रहरीले राजधानीमा सक्रिय र निष्क्रिय सबै टोले गुन्डा तथा डनका गतिविधिमाथि पनि निगरानी बढाएको छ । तर, उनीहरूलाई पक्राउ भने गरेको छैन । एसपी सिंहले भने–‘हामीले राजधानीमा रहेका टोले गुन्डा र चर्चित डनका गतिविधिमाथि पनि निगरानी बढाएका छौँ । तर, उनीहरूलाई तत्काल पक्राउ भने गरिएको छैन ।’

चाडपर्वका वेला अशान्ति मच्चाउने खालका गतिविधि हुनासाथ उनीहरूलाई नियन्त्रणमा लिने एसपी सिंहले बताएका छन् । उनका अनुसार प्रहरीले त्यस्ता टोले गुन्डा र डनको सूची नै बनाएर तयारी अवस्थामा बसेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्