कांग्रेस सभापति देउवामा प्रजातान्त्रिककै धङधङी बाँकी
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा तत्कालिन कांग्रेस प्रजातान्त्रिकको घेराभन्दा बाहिर जान नसकेको टिप्पणी गरेका छन् । न्यूज–२४ टेलिभिजनको कार्यक्रम ‘६ प्रश्न’मा कुराकानी गर्दै नेता पौडेलले पार्टी विभाजन गरेर एउटा समूहको नेतृत्व गरेका देउवामा त्यही घेराको मात्रै कुरा सुन्ने र सोहीअनुसार व्यवहार गर्ने प्रबृत्ति कायमै रहेको बताएका हुन ।
नेता पौडेलले देउवाको सोही प्रवृतिका कारण कांग्रेसमा आन्तरिक लोकतन्त्र कमजोर बनेको टिप्पणी गरेका छन् । नेतृत्व लोकतान्त्रिक नहुँदासम्म पार्टीमा गुट–उपगुटको अस्तित्व रहने नेता पौडेलको भनाइ छ ।
संख्याको बलभन्दा नेता–कार्यकर्ताको भावनाअनुसार न्याय पूर्णरुपमा पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिँदै नेता पौडेलले सभापतिलाई थप शक्तिशाली बनाउँदा निरंकुश प्रबृत्ति झनै बढ्ने पनि औँल्याएका छन् । कांग्रेसमा रहेका फरक–फरक धारबीच कुनै मुद्दामा एकमत हुनु र कुनैमा नहुनुलाई स्वभाविक मान्नुपर्ने नेता पौडेलको भनाइ छ ।
फरक प्रसंगमा नेता पौडेलले जनआकांक्षा सम्बोधनमा सरकार असफल भएको टिप्पणी गरेका छन् । समृद्धिको चर्को भाषण गरेको सरकारले विकास–निर्माणलाई गति दिन, भ्रष्टाचार नियन्त्रण गर्न र न्यूनतम् राजनीतिक सहमति निर्माणमा ठोश काम नगर्दा नागरिक निरास बन्दै गएको पौडेलको बुझाई छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्