सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बिबादका बिच केशव स्थापित मन्त्री पदबाट बर्खास्त

प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई शुक्रबार पदबाट हटाइएको छ । मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री स्थापितलाई हटाई उनले सम्हाल्दै आएको मन्त्रालय आफैसँग राखेका छन् ।

स्थापितलाई हटाउने विषयमा नेकपाका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गर्न उनी बिहीबार काठमाडौं गएका थिए । उनले प्रधानमन्त्री ओलीसँग बिहीबार र शुक्रबार दुईपटक भेटेर सहमति लिइ स्थापितलाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले भनेका छन्–‘अभद्र र अशिष्ट व्यवहार गर्ने, तर आफ्नो पदीय जिम्मेवारी भने बहन नगर्ने भएकाले हटाइएको हो ।’ मन्त्रिपरिषदको दोस्रो वरियतामा रहेका स्थापितमाथि जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको आरोप लाग्दै आएको थियो ।

बुधबारको मन्त्रिपरिषद बैठकमा पनि मु्ख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको निष्क्रियताका कारण प्रदेश सरकारले गति लिन नसकेको विचार व्यक्त गरेपछि स्थापितले अभद्र व्यवहार गरेका थिए । १३ अर्ब बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले खासै काम अगाडि बढाउन सकेको छैन ।

मुख्यमन्त्री पौडेल मन्त्री स्थापितको बुधबारको व्यवहारबाट अत्यन्त आक्रोशित भएका थिए । एक मन्त्रीले भनेका छन–‘नरम र शिष्ट स्वभावका मुख्यमन्त्री पौडेल स्थापितको व्यवहारबाट अत्यन्त आक्रोशित भएका छन् । स्थापित कहिल्यै गम्भीर नहुने स्वभावका रहेछन ।’ स्थापितले भने आफ्नो श्वर अलि ठूलो भएको तर अभद्र व्यवहार नगरेको बताएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्