बोक्सी भन्दै कुटपिट, उल्टै ५० हजार जरिवाना पनि
घरायसी र लेनदेन विवादमा धनुषाको धनौजी गाउँपालिकामा परिवारकै सदस्यले बोक्सी भन्दै महिलालाई कुटपिट गरेका छन् । विवाद मिलाउन बसेको पञ्चायतले कुटाइ खाएकी महिलालाई उल्टै ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
धनौजी–२ की ३८ वर्षीया मनतोरिया मण्डललाई कात्तिक ९ गते घरकै सदस्यले कुटपिट गरेका थिए । अन्यायमा परेको उजुरीसहित आइतबार जनकपुर आइपुगेकी मण्डलले प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई पीडा सुनाइन् ।
उनले भनिन्–‘बोक्सी भन्दै मलाई कुटपिट गरे । अन्यायमा परेको भनेर समाज गुहार्दा मलाई दोषी देखाएर जरिवाना तोकिदिए । उनका पति इन्द्रजित मण्डल दुबईमा छन् । सम्पत्तिका विषयमा परिवारमा किचलो छ ।
त्यही किचलोका कारण जेठाजु इन्दल मण्डलले उनलाई बोक्सी आरोप लगाउँदै कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलले जनाएको छ । सेलले कुटपिट गर्ने पक्षलाई सोमबार छलफलका लागि बोलाएको छ ।
इन्दलले बुहारी बोक्सी रहेको भन्दै पञ्चायत डाकेका थिए । पञ्चायतमै सबैका सामुन्ने उनले मनतोरियालाई कुटपिट गरे । उनले भनिन्–‘म बिरामी परेको थिइनँ, त्यसैले मलाई बोक्सी भनेर कुटे । अरू बिरामी पर्दा तँ टुनामुना गरेर आफ्नो रोग भगाउँछेस् । तँ बोक्सी होस् भन्दै कुटपिट गरे ।’
पञ्चायतमा खत्वे समाजका माइजन फुलगेन मण्डल, दुखी मण्डल, वीरेन्द्र मण्डल लगायतले जेठाजुको लहैलहैमा लागेर आफूलाई कुटपिट गरेको उनको आरोप छ । उनले भनिन्–‘घरमा विवाद हुँदा जेठाजु इन्दल र जेठानी मानकीदेवीले कुटे । पछि जेठाजुले खत्वे समाजका पूरै पञ्च बोलाएर बोक्सी स्वीकार गर्न धम्क्याए ।’
कुटपिटपछि मनतोरियाले धनौजी गाउँपालिका–२ का वडाध्यक्ष राजकुमार साहलाई उजुरी गरिन् । वडाध्यक्ष साहले पञ्चले गरेको निर्णय स्वीकार गर्न दबाब दिएपछि प्रहरीमा उजुरी गरेको उनले बताइन् । साहले जरिवानाको निर्णय पञ्चायतले गरेको र मनतोरियालाई प्रहरीमा जान सुझाएको बताए ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले बोक्सी आरोपमा महिलालाई यातना दिएको ठहर भए कानुन अनुसार कडा कारबाही गरिने बताए । उनले घटनाबारे बुझन तत्कालै निर्देशन दिइएको र दोषीलाई कारबाही दायरामा ल्याउने बताए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्